शुक्रबार, चैत १६, २०८०

‘प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधान आवश्यक’

नेपालखोज २०८० जेठ २२ गते ११:४३

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि दृढ सङ्कल्प गर्ने समय आएको बताएकी छन् ।

विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले प्लास्टिकजन्य फोहरको उचित व्यवस्थापन र पुनःप्रयोगलाई सुनिश्चित गर्न फोहर सङ्कलन तथा व्यवस्थापन पूर्वाधारलाई सुदृढ गर्नुपर्नेमा जोड दिइन् ।

पूर्वराष्ट्रपति भण्डारीले वातावरण प्रदूषणका विभिन्न कारणले मध्ये प्लास्टिक पनि भएको र यो वातावरण र मानव जीवनका लागि ठूलो खतराको रूपमा देखा परेको बताइन् ।

उनले यति हुँदाहुँदै पनि यो निराशाको समय नभएको बरु समस्याको दिगो समाधानका लागि दृढ सङ्कल्प गर्ने समय भएको बताइन् ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष जुन ५ लाई ‘विश्व वातावरण दिवस’का रूपमा मनाउन सुरु गरिएको हो ।

यो वर्ष ‘प्लास्टिक प्रदूषणको समाधान’भन्ने मूल विषय र ‘प्लास्टिक प्रदूषणलाई हराऔँ’ भन्ने अभियान नाराका साथ विश्वभर यो दिवस मनाइँदैछ । नेपालमा पनि हामी ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ यो दिवस मनाउन लागिएको छ । rss

प्रतिक्रिया