बिहीबार, चैत १५, २०८०

विचार गरेर प्रयोग गरौं नुन

डा. अरुणा उप्रेती २०८० जेठ २३ गते ८:००

काठमाडाैं । काटेको घाउमा नुन चुकु लगाउनुको अर्थ दुःखी मान्छेलाई झन् दु:खी पार्नु भन्ने अर्थ लाग्छ । राजाको नुन खानुको अर्थ सरकारी सेवा गरेको भन्ने बुझिन्छ । ‘नुन खाएको कुखुरा’ जस्तो भन्दा कुनै समस्या परेर उदास भएको मान्छे भन्ने बुझिन्छ । नुनसँग यस्ता धेरै उखान टुक्का गाँसिएका छन् । नुन भान्छामा नभई हुँदैन तर धेरै पनि हुनुहुँदैन भन्ने विचार गर्नुपर्छ ।

नुन नभएको खाना कति बेस्वादिलो हुन्छ विचार गर्नुस् त ? तर धेरै नुन भएपछि फेरि अनेक समस्या आइपर्छ । मैले दुई वर्षअघिदेखि नै ढिके नुनको प्रयोग गर्न सुरु गरेकी थिएँ । एकजना पोषणविद्ले मलाई ‘आयो नुन’ मा हाम्रो शरीरलाई चाहिने भन्दा आयोडिन हालिएको छ भनेपछि मेरो भान्छाबाट ‘आयो नुन’ हट्यो ।

टीभी विज्ञापनमा कहिलेकँही आउँछ– ‘के तपाईको मञ्जनमा नुन छ’ ? मञ्जनमा नुनको प्रयोग हुने कुरालाई धेरै जनाले अचम्मको रुपमा लिन्थे होला । तर दाँत स्वस्थ राख्न नुन एउटा औषधी मानिन्छ । भन्ने कसैलाई थाहा छैन । गिजा दुखेको बेला मनतातो पानी र नुनले कुल्ला गर्न भन्नेकुरा यही कारणले हो ।

प्राचीनकालदेखि नै मासु र खानेकुरालाई लामो समयसम्म सुरक्षित राख्न नुन प्रयोग गरिन्थ्यो । ग्रीक सम्यतामा नुनलाई यति धेरै महत्व दिएको थियो कि दासहरूका किनबेच पनि नुनमा हुन्थ्यो । प्राचीनकालमा पनि रोमन सिपाहीहरूलाई तलब दिँदा नुन पनिसँगै दिइन्थ्यो भन्ने कथन पाइन्छ ।

मंगोलियामा मानिसहरू आफ्ना सुन, चाँदीसँग नुन साट्थे । नेपालमा पनि पहिले पहिले मानिसहरू भोटबाट नुन ल्याउँथे भन्ने सुनिएको हो । प्राय: प्याकेटका खानेकुरामा नुने धेरै लुकेकोे हुन्छ । तर हामीलाई थाहा हुँदैन । स्वास्थकर्मीहरू भन्छन् नुनको बढी प्रयोग गर्न हुन्न । विशेष गरी प्याकेटमा राखिएका खानेकुराहरुमा नुन बढी भएकोले यस्ता खाना नखाएकै बेस ।

तर, खानेकुरा बनाउने कम्पनीहरू चाही यो कुरालाई स्वीकार्दैनन् । खानेकुरामा नुनको बढी प्रयोग गर्दा नुन नै विष बन्न पुग्छ । एकतिर बढी नुनले स्वास्थ समस्या ल्याउछ तर नुन चिनी पानीले फेरी पखाला लाग्दा जीवन बचाउँछ भन्ने कुरा त सर्वविदितै छ । त्यसैगरी लामो समय हिडेपछि बढी थकाई लागेका बेलामा, पसिना धेरै गएका बेलामा नुन र कागती पानीको प्रयोग गरिन्छ ।

थाकिने, पिडौँला बाँउडिने जस्तो हुँदा हुन्छ । त्यो बेलामा अलिकता पानीमा अलिकति नुन र कागतीको रस हालेर खाए शरीरमा फुर्ती आउँछ ।

त्यसैगरी गाउँघरमा पनि आधुनिक ९औषधीहरु नपाउँदा ०मनतातो पानीमा नुन हालेर त्यसैले घाउ सफा गर्ने चलन छ । रुघाखोकी लाग्दा, घाँटी दुख्दा मनतातो पानीमा नुन हालेर दिनमा ४–५ चोटी घाँटीमा गार्गल गर्दा दुख्न कम हुने धेरैको अनुभव छ । दाँत गन्हाउँदा, गिजाबाट रगत आउँदा, नुन बेसार र अलिकता तोरीको तेल लिएर मुख कुल्ला गर्ने र मिदुणले गिजा सफा गर्ने गर्दा धेरै मानिसलाई फाइदा पुगेको छ ।

नुन एकतिर औषधी पनि हो । तर प्रयोग गर्न नजान्दा विषको काम पनि यसले गर्छ । नुनको विभिन्न किसिमका प्याकेटहरुका खानेकुरा चिफ, चाउचाउ, बिस्कुट आदिमा पनि पर्याप्त मात्रामा हुन्छन र यस्ता खानेकुराहरुको प्रयोगले शरीरमा बढी नुन पुर्‍याउँछन् ।

अनि विभिन्न रक्तचाप, मिर्गौलाका समस्या भएका व्यक्तिहरू घरमा खाना खाँदा चाही खानेकुरामा नुन कम खान्छन् । तर बाहिरका खानेकुरामा भएका नुनको चाहीँ वास्तै गर्दैनन् र त्यसैले समस्या पनि बढाउँछ । टिनका विभिन्न बट्टामा राखेका खानेकुरा लामो समय सुरक्षित राख्न पनि नुनको प्रयोग गरिन्छ । त्यस्ता खानेकुराको प्रयोगले हानी त पुर्‍याउँछ नै पहिलेदेखि नै मिगौलाको समस्या रहेकामानिसलाई त झन बढी समस्या पर्छ औषधी ।

कहिले काही केही तातो खानेकुरा खाएपछि मुख भित्र पोल्छ । त्यो बेलामा मन तातो पानीमा अलिकति नुन हालेर एक दुई घण्टामा कुल्ला गर्नाले त्यो दुखाई आराम हुन्छ । नाक बन्द भएको बेलामा मनतातो पानीमा अलिकता नुन ९नुनको आँसुको स्वा जति मात्र हुनुपर्छ ।

नाकमा थोपा थोपा गरेर हाले नाक चाडैं खुल्छ । यो आँसुको स्वाद जस्तो भएको पानी साना नानीहरुको नाकमा हाल्दा फाइदा हुन्छ । त्यसैगरी मोजा र खुट्टा गनाउने व्यक्तिका लागि पनि नुनको प्रयोगले धेरै मद्दत गर्न सक्छ । मोजा फुकालेपछि मनतातो पानीमा नुन हालेर खुट्टा भिजाउने र औँलाको कापकापमा समेत नुन दल्ने र केही बेर तातो पानीमा खुट्टा राखेपछि सुख्खा पार्नाले खुट्टा गनाउन कम हुन्छ ।

जुका लाग्ने ठाउँमा जानुभन्दा अघि टिमुर र नुनको धुलो हात खुट्टामा दल्नाले जुका लाग्न धेरै कम हुन्छ । एकदिन धेरै थाकेर आउँदा पनि मातातो पानीमा नुन हालेर नुहाउनाले शरीरको दुखाई कम हुने अनुभव धेरै जनाले सुनाएका छन्। रुघाखोकी लाग्दा तातोपानीमा नुन हालेर वाफ लिँदा शरीर हलुको हुन्छ । नाक बन्द भएको खुल्छ भन्ने कुरा पनि धेरैले अनुभव गरेकै हो ।

गर्भवती महिलाले वाकवाक लाग्दा कागती र अलिकति नुन चाट्नाले वाकवाक कम हुन्छ । त्यसैगरी बसमा जाँदा वाकवाक आउने व्यक्तिलाई पनि कागती र नुन खानाले वाकवाक केही कम हुन्छ । जानेर चाहिने मात्र प्रयोग गर्दा नुन औंषधी बन्न सक्छ ।

प्रतिक्रिया