बाँदरमुढे घटनाको अठार वर्ष

काठमाडौं । देशमा जनताका लागि जनताले रोजेको जनताबाट सञ्चालन गरिने सरकार स्थापना गर्ने साथै समानता समान अधिकारकाे ब्याख्या गर्दै देशमा जनयुद्धको घोषणा गरिएको थियो ।
तर यो लडाइमा जनताका छोराहरुको हत्या र बेपत्ता पारियो । कतिपय निर्दोषहरुको हत्या अनाहकमा भए । यि हत्यामा कुनै पनि पक्षले जिम्मेवारी सम्म लिएनन् ।
जनयुद्धकालको निस्पक्ष रुपले समिक्षा नै गर्ने हो भने जति युद्धरत माओवादी पक्ष दोषी थिए, देशको सरकार पनि पूर्णरूपमा निर्दोष थिएन ।
निर्दोष र निहत्था जनताहरुको हत्याका कथाहरुमा चितवनको बाँदरमुढेको घटना पनि तथाकथित जनयुद्धकारी भनिएका माओवादीको जघन्य अपराध मध्यको एक थियो ।
यो सुनियोजित थियो, बाँदरमुढे खोलाको काठेपुलमा बिछ्याइएको बारुदलाई नजिकै लुकेर बसेका आतंककारीले बटन थिचेर पड्काइएको थियो । यो नेपालको सरकार वा सेना र माओवादी बिचको युद्ध थिएन । यो त आततायी घटना थियो । सोझा अन्जान जनता चढेको सार्वजनिक बसमा गरिएको आक्रमण थियो ।
तर यस घटनामा सुक्ष्म पक्षले अध्ययन गर्ने हो भने सेना पनि केही हदसम्म दोषी थियो । यस आक्रमणमा मृत्यु हुनेको सूचीमा तीन जना सेनाका जवान पनि थिए । घाइतेको सूचीमा ४ जना सैनिक जवानको नाम पनि थियो ।
सेनाले दिएको जानकारीका अनुसार ७ सैनिक जवान त्यस भरिएको बस भित्र यात्रा गरिरहेका थिए । तर अन्य श्रोतका अनुसार १२ सैनिक जवानले यात्रा गरेका थिए ।
२०६२ जेठ २३ गते करिव १५० यात्रु कोचाकोच भएर बिहान ६ बजे गोविन्दवस्ती बगई (माडी)बाट भरतपुरका लागि हिडेको बस बिहान ७:५० मा बाँदरमुढे खोलामा रहेको भत्किएको काठेपुलमा पुगेको थियो ।
केही बेर त्यहाँ अडिएर पुलमा गुड्नासाथ ठूलो बिष्फोटले बस ध्वस्त भयो । बसमा यात्रा गरिरहेका ७२ जना घाइते भए भने ३९ जनाको तत्कालै मृत्यु भयो । उपचारका क्रममा पछि अन्य ३ जना घाइतेको पनि मृत्यु भयो ।
केही सैनिकहरु यात्रा गरिरहेको जानकारी गोप्यरुपमा पाए पछि माओवादीले सिंगो बसलाई निशाना बनाइएको हुनुपर्छ । अन्तराष्ट्रिय कानुनका अनुसार युद्धरत समयमा सार्वजनिक यातायातमा सैनिक ओसारपसार गर्न पाइदैन ।
हतियार सहित यात्रा गरिरहेका सैनिकहरुलाई युद्धरत समयमा सार्वजनिक यातायातमा आम मानिसहरु बिच लुकाईछिपाई यात्रा गराउनु नेपाली सेनाको पनि ठूलो गल्ती थियो ।
गोप्य सूचनाका अनुसार सााधारण पोशाक लगाएका ७ जवान सैनिक बगइ क्याम्पबाट बनकट्टा क्याम्प जानका लागि चढेका थिए । यिनीहरुलाई सुरक्षा दिन ५ सैनिक जवान बसको छतमा सर्वसाधारण झै हतियार लुकाएर बसेका थिए । यिनीहरुले रेडियो सेट पनि बोकेका थिए ।
सैनिकहरुले यात्रा गर्ने गोप्य सूचना कसैबाट माओवादीले पाएपछि पुलमा बाल्टिन बम जडान गरि करिव २००मीटर टाढासम्म तार ओछ्याएर बटन दबाएर विस्फोट गराउने तैयारी गरेका थिए ।
तत्कालिन समयमा माओवादीहरुले बसका मालिक तथा ड्राइभरहरुलाई चेतावनी पनि दिएका थिए, सैनिक जवान बोकेको भेटिएमा सफाया गरिदिने र बस ध्वस्त पारिदिने धम्की दिएका थिए ।
यसैले सैनिक जवानहरुले गोप्य रुपमा साधारण पोशाकमा लुकीछिपी यात्रा गर्न थाले । जसको परिणति बाँदरमुढे घटना र मैनापोखरी घटनालाई लिन सकिन्छ ।
सबैभन्दा दुखद त त्यो थियो, बिष्फोटको तत्कालै नजिकै लुकेर बसेका माओवादीले घाइतेहरुको अवस्था बुझ्नु भन्दा सेनाले लुकाएर ल्याएको सेमी अटोमेटिक एसएलआर तथा रकेट लन्चर लुटेर लगेका थिए ।

प्रतिक्रिया