शुक्रबार, वैशाख १४, २०८१

कोसी प्रदेशसभामा महालेखा परीक्षकको प्रतिवेदन पेस

नेपालखोज २०८० जेठ २३ गते १८:४५

काठमाडाैं । कोसी प्रदेशसभामा महालेखा परीक्षकको आर्थिक वर्ष २०७८/७९ को पाँचौँ वार्षिक प्रतिवेदन पेस भएको छ । आज बसेको प्रदेशसभा बैठकमा सो प्रतिवेदन पेस गरिएको हो ।

यसैबीच विशेषस समयमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको तर्फबाट सदस्य गणेशप्रसाद उप्रेतीले प्रमाणीकरण भएको नागरिकता विधेयकको विषयमा सङ्घीय संसद्मा भइरहेको विरोध राष्ट्रहितमा नरहेको बताए । उनले नागरिकता विहीन अवस्थामा रहेका शिक्षित युवा बेरोजगार भएको, राहदानी बनाउन नपाई वैदेशिक रोजगारमा जान नपाएको समस्यालाई समाधान गर्न बनेको यो कानुनको विरोध गर्नु उचित नभएका बताए ।

नेकपा (एमाले) संसदीय दलको तर्फबाट रामप्रसाद मेहताले सुनसरी मोरङ सिँचाइ आयोजनाबाट बाह्रै महिना कृषकको खेतमा पानी पुर्याउन सरकारले योजना बनाउनुपर्ने माग गरे ।

उनले अहिले खडेरी र सुक्खाका कारण किसानको खेतमा पानी नपुगिरहेको यस्तो अवस्थामा सुनसरी र मोरङको धेरै नदीको पानी नहरमा खसाल्न सकियो भने कृषकलाई निकै राहत मिल्ने बताए । अर्को सूचना जारी नभएसम्मका लागि सदन स्थगित भएको सभामुख बाबुराम गौतमले जानकारी दिए ।

प्रतिक्रिया