बुधबार, वैशाख १२, २०८१

रेशम चौधरीलाई कैद सजाय माफी दिने सरकारको निर्णयविरुद्ध अदालतकाे कारण देखाऊ आदेश

नेपालखोज २०८० जेठ २३ गते १८:५१

काठमाडाैं । रेशम चौधरीलाई कैद सजाय माफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले कारण देखाऊ आदेश दिएको हाे ।

कैलालीको टीकापुर घटनामा हत्या अभियोगमा जिल्ला, उच्च र सर्वोच्च अदालतले दोषी ठहर गरेका चौधरीलाई सजाय माफी दिन मन्त्रिपरिषद्‌ले गत जेठ १४ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले गणतन्त्र दिवसको अवसरमा सजाय माफी दिएसँगै भोलिपल्ट चौधरी काठमाडौंको डिल्लीबजार कारागारबाट कैदमुक्त भएका थिए ।

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनका क्रममा आठजना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको घटनाको मुख्य योजनाकार भन्दै चौधरीसहितलाई मुद्दा चलाइएको थियो । तीन तहकै अदालतबाट दोषी ठहर हुँदै उनलाई जन्मकैदको फैसला भएको थियो।

यस्तो व्यवस्था विपरीत तहगत सबै अदालतले दोषी ठहर गरेको व्यक्तिको सजाय माफी दिएर पीडितको न्यायामा आघात पुगेको भन्दै सर्वोच्चमा रिट परेको हो । उक्त घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले जेठ १६ गते रिट हालेकी थिइन् । सर्वोच्चले रिटलाई अग्राधिकारमा राख्न समेत आदेश दिएको छ।

प्रतिक्रिया