बिहीबार, चैत १५, २०८०

उडिशा रेल दुर्घटनाको अनुसन्धान सीबीआईले गर्ने

नेपालखोज २०८० जेठ २३ गते २२:०१

नयाँदिल्ली । उडिशाको बालासोरमा गत शुक्रबार भएको रेल दुर्घटनाको अनुसन्धान केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले गर्ने भएको छ ।

एउटा मालबाहक र दुईवटा यात्री बाहक रेलसहित तीनवटा रेल एकैपटक दुर्घटना हुँदा ज्यान गुमाएका यात्रीका परिवारजन तथा घाइते यात्रीलाई हालसम्म रु १६ करोड क्षतिपूर्ति उपलव्ध गराइएको छ ।

दक्षिण पूर्वी रेलवेका एक अधिकारीका अनुसार आजसम्ममा क्षतिपूर्ति पाएका पाँच सय ३१ जनामध्ये सामान्य घाइते भएका तीन सय तीन जना, गम्भीर घाइते भएका एक सय नौ जना र मृत्यु भएका एक सय १९ जनालाई रु १५ करोड ६० लाख क्षतिपूर्ति प्रदान गरिएको छ ।

आफ्नो परिवारका सदस्य गुमाएका र क्षतिपूर्ति लिन चाहने परिवारलाई कटक, मिदनापुर, भुवनेश्वर र बालासोरमा स्थापना गरिएका सहयोग केन्द्रमा सम्पर्क गर्न दक्षिणपूर्वी रेलवेका आदित्य कुमार चौधरीले बताएका छन् । यसैबीच पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले दुर्घटनाग्रस्त कोरोमण्डल एक्सप्रेसमा सवार आफ्नो राज्यका ३१ जना यात्री अझै बेपत्ता रहेका बताएका छन्

दुर्घटनामा दुई सय ७८ जनाको ज्यान गएको छ भने एक हजार एक सय जना घाइते भएका छन् । दुर्घटनाको केन्द्रीय जाँच ब्युरो सीबीआईले अनुसन्धान गर्ने भएको छ । करिब तीन दशकयता भारतमा यति भीषण सार्वजनिक यातायात दुर्घटना भएको थिएन । rss

प्रतिक्रिया