शुक्रबार, चैत १६, २०८०

पर्यटकलाई मोहित बनाउने शिरीषको राताम्य फूल

नेपालखोज २०८० जेठ २४ गते ५:४५

झापा । झापाको बर्ने चिया बगानस्थित मेची राजमार्ग किनारमा शिरीष फूलेर राताम्य भएपछि ‘टिकटक भिडियो’ बनाउनेको भीड उर्लिएको छ । झापा र इलामको सिमाना नजिक पर्ने सो स्थान बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा छ । चियाको बुट्यानयुक्त प्राकृतिक हरियालीमा फूलको सौन्दर्य थपिएपछि मेची राजमार्ग हुँदै पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङ जाने अधिकांश यात्री एकछिन रोकिएर रमाउने र फोटो खिचाउने गर्छन् ।

शिरीष फूलको सौन्दर्यले मोहित हुँदै खिचिएका फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिरालो जमिन भएकाले भूक्षय हुन नदिन शिरीषका विरुवा हुर्काइएको थियो । पुराना ती रुखहरू वर्षमा एकचोटि फूलेर राताम्य हुँदा पर्यटकीय आकर्षणको केन्द्र बन्ने गरेको हो । शिरीष फूल्न थालेपछि हरेक दिन पाँच सय मानिस सो स्थानमा घुमफिरका लागि आउने गरेका छन् । पर्यटकको ओइरो लागेपछि चिया, खाजा र पानी बेच्ने साना व्यवसाय फस्टाएका छन् ।

‘शिरीष फूलेपछि मानिसको ओइरो लाग्यो, त्यसपछि मैले पनि यहाँ पानी, कुरमुरे जस्ता सामान बेच्न थालेको छु’, बुद्धशान्ति–४ का अर्जुन घिमिरे भन्छन्, ‘पहिला बुधबारे बजारमा दोकान चलाउँथे । अहिले यही भाइरल शिरीषको फेदमा बसेर व्यापार चलाइरहेको छु ।’ अरुभन्दा शनिबार भीड उर्लिने गरेको उनले बताए । एक साताअघि अस्ट्रेलियाको ब्रिसबेनबाट स्वदेश फर्कनुभएकी इटहरी–४ की अनुष्का कटुवाललाई इलामको पर्यटकीय स्थल श्रीअन्तु जाँदै गर्दा बर्नेको भाइरल शिरीषको फूलले लोभ्यायो । परिवारका १२ जना सदस्यसहित आउनुभएकी उनले रिजर्व गाडीलाई राजमार्ग छेउमा पार्किङ गराएर एक घण्टा फोटो र भिडियो खिचाउनमा बिताए ।

उनले राताम्य फूललाई पृष्ठभूमिमा राखेर १२ वटा टिकटक र मनलाग्दी सेल्फी खिचेको बताए । अस्ट्रेलियातिर सार्वजनिक पार्कहरूमा शिरीषको रङ्गीबिरङ्गी फूलले पर्यटकलाई लठ्याउने गरेको देखेको बताउँदै उनले यति धेरै मानिसको भीड लागे तापनि यहाँ पार्किङ, शौचालय र गफिने चौतारोहरूको अभाव रहेको गुनासो सुनाए । भोजपुरको अरुण–४ घर बताउने ३० वर्षीय अर्पण राईले पाँचथरको फालेलुङ जाँदै गर्दा भाइरल शिरीषको फूलमा केही भिडियो बनाउन पाउँदा आनन्द लागेको बताए । फूलको फेदमा गिटार रेटेर गीत गाउँदै गरेको सातवटा भिडियो खिचेको उनले बताए ।

भाइरल शिरीषको चर्चा सामाजिक सञ्जालमार्फत फैलिएपछि टिकटक बनाउनकै लागि भनेर साथीहरूसँग घुम्न आएको भद्रपुर–३ की रेबिका थापाले बताए । चन्द्रगढीको वीरेन्द्र नमूना क्याम्पसको शिक्षा सङ्कायको स्नातक प्रथम वर्षमा अध्ययनरत उहाँले धेरैजसो साथीहरू शिरीषको फूलसँग फोटो र भिडियो खिचाउन यसअघि नै आइसकेको बताए । झापामा पर्यटकीय आकर्षणका स्थलहरू प्रशस्त रहेको र फूलको सौन्दर्यले मानिसको मनलाई उल्लासित बनाउने भएकाले फूलेका शिरीषका रुखहरू भाइरल भएको फोटो पत्रकार देवेन्द्र खरेल बताउँछन् । सामाजिक सञ्जालमा प्रकाशित गरिएका तस्वीर र दृश्यका कारण टाढादेखि आन्तरिक पर्यटकहरू शिरीषको फूलको सौन्दर्यप्रति मोहित बनेको उहाँको ठम्याइ छ ।

ठाउँ सुन्दर र फूल झन् सुन्दर भएरै त्यहाँ शिरीषको फूल हेर्न पर्यटकहरूको ओहोरदोहोर बढिरहेको छ । छोटो अवधिमै नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित बनिरहेको त्यस ठाउँमा राजमार्गतिर उभिएर आफ्नै धुनमा फोटो र भिडियो खिच्ने प्रवृत्ति बढ्दा सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । अर्कातिर, पर्यटकको सुविधा र सहजताका लागि शौचालय, खाजाघर र सुरक्षाको पर्याप्त प्रबन्ध हुन सकेको छैन । rss

प्रतिक्रिया