शुक्रबार, वैशाख १४, २०८१

चितवनको डाँडामा हिल स्टेसनको माग

नेपालखोज २०८० जेठ २५ गते ५:००

चितवन । पहाडी क्षेत्रलाई ‘हिल स्टेसन’ का रूपमा विकास गर्न सके जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिन्छ । बढ्दो गर्मीसँगै जिल्लामा आउने पर्यटकको सङ्ख्या घट्ने गर्दछ । जिल्लाको सदरमुकाम भरतपुरबाट छोटो समयको यात्रामै पुग्न सकिने सितल ठाउँहरु धेरै छन् ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ पहाडी क्षेत्रहरुमा घरबास (होमस्टे) सञ्चालनका लागि स्थानीयवासीलाई तालिम दिन थालिएको बताउँछन् । क्रमशः उनीहरुलाई सहयोग गरेर चेपाङ, मगर, गुरुङजस्ता जातिको होमस्टे सञ्चालनका लागि गाउँपालिकाले पहल गरिरहेको छ ।

निजी क्षेत्रले ती क्षेत्रहरुमा होटल रेष्टुरेन्ट सञ्चालन गर्न चाहेमा आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको उनी बताउँछन् । गाउँपालिकाको हात्तीवाङ, चौकीडाँडा, ज्यान्दाला, मायाटार, याक्राङ, पानडाँडालगायत क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाएर पर्यटन प्रवर्द्धन गर्न सकिने अध्यक्ष गुरुङको भनाइ छ ।

भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा विश्व सुवेदी महानगरकै वडा नं २९ मा हिल स्टेसन बनाउने विषयमा छलफल भइरहेको बताउँछन् । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन लागेको महानगरले पर्यटकीय पूर्वाधारको विकासमा जोड दिएको छ । सरकारी तवरबाट आवश्यक पूर्वाधारहरुमा सहयोग गरेर निजी क्षेत्रलाई हिल स्टेसनमा लगानी गर्न अनुरोध गर्नुपर्ने र जिल्लाका मात्रै नभएर बाहिरका पर्यटक तान्ने गन्तव्य बनाउन पनि पहाडलाई लनि सकिनेमा पर्यटन विज्ञ सुवेदी जोड दिन्छन् ।

होटेल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुके जिल्लाका पहाडी क्षेत्रका डाँडाहरु पर्यटकीय गन्तव्यका हिसाबले उपयुक्त रहेको बताउँछन् । छोटो समयमा पुग्न सकिने भएकाले ती ठाउँहरुमा पूर्वाधार बनाउन सकेमा आन्तरिक र बाह्य पर्यटक तान्न सकिने उनको बुझाइ छ ।

गर्मी महिनामा जिल्लामा पर्यटक कम आउने भएकाले यो समयमा पर्यटकका लागि चिसो ठाउँमा पर्यटकीय पूर्वाधार हुनुपर्ने अध्यक्ष चुकेको भनाइ छ । जिल्लामा यतिबेला शिक्षण संस्थाहरु बढ्दो गर्मीका कारण बन्द भएका छन् । जिल्लावासीलाई गर्मी छल्नका लागि घुम्न सकिने नजिकका गन्तव्यस्थल कम छन् । आफ्नै जिल्लाभित्रका नजिकैका डाँडाहरु चिसो भए पनि पर्यटकीय पूर्वाधार कमीका कारण आरामले रात बिताउने ठाउँ कमै छन् ।

प्रतिक्रिया