शुक्रबार, वैशाख १४, २०८१

श्री १००८ खप्तडबाबा

नेपालखोज २०८० जेठ २५ गते ५:३४

कुनै व्यक्ति भाग्य – भाग्य भनी चिच्याउँछ र ऊ ठान्दछ, त्यो उसको सामर्थ्यभन्दा बाहिर छ । तर , यथार्थमा मनुष्य आफ्नो भाग्यको स्वयं निर्माता हो किनभने जस्तो उसको विचार हुन्छ उस्तै नै उसका सब कार्य पनि ती विचारहरूको अनुकूल नै हुनेछन् । यदि मानिसले सही ढङ्गले विचार गर्न सिक्यो भने भाग्य उसको हातको कठपुतली बन्नेछ ।

भगवान कृष्णले गीतामा भन्नुभएको छ- ‘पाप काठ समान हो र ज्ञान अग्नि समान हो। काठ धेरै छ र अग्नि थोरै भए पनि सबै काठहरूलाई भष्म गरिदिन्छ।’ शक्ति त्यसलाई भन्दछन् जो अरूलाई गति प्रदान गरोस् ।

अरूलाई चलाउने विचार – शक्ति हो । यसैले सारा संसारलाई चलाइरहेछ । यस्ता विचार जहाँबाट उत्पन्न हुन्छन् त्यो मन हो र जुन यन्त्रद्वारा मनबाट विचार निकालिन्छ त्यो मस्तिष्क हो । विचारहरूलाई कोही देख्न सक्दैन, न कसैले आजसम्म देखेको छ तर विचारको अदभुत शक्तिलाई सबैले स्वीकार गरेका छन् ।

विचारले नै रचना गर्दछन्, भेद गर्दछन्, बनाउँछन् र नाश पनि गर्दछन् । ठूलो हर्षको कुरा के छ भने हाम्रा ऋषि – मुनिहरूको विद्याको अनुसरण पश्चिमी मानिसहरूद्वारा बडो तीव्रताका साथ भइरहेछ ।

अतः हामीहरूले पनि घोर निद्राबाट बिउँझेर आफ्ना पूर्वजहरूद्वारा सम्पादित विद्यालाई पुनः विकसित गर्नुपर्दछ, जसबाट हाम्रो सर्वाङ्गीण उन्नति हुन सकोस् । ब्रह्मज्ञानी परमपूज्य श्री १००८ खप्तडबाबा – तत्पुरुषका करकमलबाट लेखिएको ‘विचार-विज्ञान’ बाट ।

प्रतिक्रिया