शनिबार, वैशाख ८, २०८१

थाइल्यान्डको स्थानमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने

नेपालखोज २०८० जेठ २५ गते १०:५४

काठमाडौं । थाइल्यान्डले भिसाको कारण नाम फिर्ता लिएपछि सोमबारदेखि हङकङमा हुने एसिसी वुमन्स टी २० इमर्जिङ टिप्स एसिया कप नेपालले खेल्ने भएको छ ।

प्रतियोगिता १२ जुन देखि २१ जुन सम्म हङकङमा हुँदै छ । क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले थाइल्यान्डले भिसाको कारण नाम फिर्ता लिएपछि उक्त प्रतियोगिता आफूहरूले खेल्न लागेको हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।

‘थाइल्यान्डले नखेल्ने भयो । उसको स्थानमा हामी ज्यादै छौँ । यो हामीलाई हिजो बिहान मात्रै थाहा भएको हो । त्यसको लागि हामीले तयारी गरेका छौँ । हामी शनिवार वा आइतबार त्यसतर्फ जान्छौँ’, पाठकले हाम्रो खेलकुदसँग भने ।

नेपालले टिकट भने आफ्नो खर्चमा जाने उनले बताए । ‘टिकटहरू हामीले नै काट्नुपर्छ । २५-३० लाख खर्च आउँछ । थाइल्यान्डले समयमा भिसा नहुने भएपछि फिर्ता लिएको बुझिएको छ’, उनले भने ।

समूह ए मा नेपाल, हङकङ, भारत र पाकिस्तानका ए टोली हुनेछन् । भारत र पाकिस्तान टेस्ट हुँदा हुँदा इमर्जिङ टिप्स एसिया कपमा आफ्नो ए टोली पठाउने छन् ।

नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ । नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलङ्का ए टोली छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।

पाकिस्तानले युवा तीव्र गतिकी बलर फतिमा सानाको कप्तानीमा टोली घोषणा गरेको छ । सानाले पाकिस्तानको सिनियर टोलीबाट डब्लू ३१ ओडिआई र डब्लू २४ टी २० आई खेल खेलेकी छिन् । २१ वर्षीय साना पाकिस्तानकी प्रमुख बलर हुन् । भारतले भने यु १९ खेली सकेकी स्वेता सेहरावतको कप्तानीमा टोली घोषणा गरेको छ ।

नेपाली टोली यसै सातौँ मलेसियासँगको पाँच महिला टी २० आई खेलको सिरिज ३-२ ले जितेर स्वदेश फर्किएको छ । नेपालले सिरिज जिते पनि स्तर र प्रदर्शनमा भने ठुलो प्रश्न उठेको थियो । नेपालले उक्त सिरिज एक वर्षपछि अन्तर्राष्ट्रिय पहिलो खेलको रूपमा खेलेको थियो ।

प्रतिक्रिया