बिहीबार, वैशाख १३, २०८१

तोकिएको समयमा औषधि ढुवानी नगरे कारबाही

नेपालखोज २०८० जेठ २५ गते २१:३१

काठमाडाैं । सरकारीस्तरमा सञ्चालित भोजपुर जिल्ला अस्पतालमा औषधि अभावको गुनासो आउन थालेपछि सो समस्या आउन नदिन सरोकारवाला निकायबीच छलफल गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष कमल थुलुङ राईको अध्यक्षतामा आज बसेको बैठकमा अस्पताल सञ्चालनमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने आवाज उठेको हो ।

दुर्गम जिल्ला भएकाले औषधिको अभाव हुन नदिनका लागि मौज्दात सकिनुभन्दा अगाडि नै पुनः ढुवानी हुने व्यवस्था गरिनुपर्ने अस्पाताल विकास समितिका अध्यक्ष राईले बताए । सिटामोलजस्ता सामान्य औषधि पनि नागरिकले पाउन नसकेको गुनासो आफूसँग पनि आएको बताउँदै विकास समितिका अध्यक्ष राईले तोकिएको समयमा ढुवानी नगर्ने आपूर्तिकर्तालाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

सो क्रममा जिल्ला अस्पताललाई आवश्यक पर्ने औषधिजन्य सामग्री समयमा आपूर्तिकर्ताले ढुवानी नगर्दा समस्या देखिने गरेको जिल्ला अस्पताल भोजपुरका प्रमुख डा शिवजी रिजालले जानकारी गराएका थिए । वर्षमा दुईपटक औषधि खरिद हुने र बोलपत्रअनुसारको औषधि समयमा नआउँदा समस्या देखिने गरेको डा रिजालले बताए । केही समय अगाडि निःशुल्करूपमा बाँड्ने औषधि सकिएको गुनासो आएपछि स्वास्थ्य सेवा विभागबाट ल्याएर भए पनि तत्कालका लागि समस्या समाधान गरिएको थियो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अस्पतालमा देखिएका समस्याका विषयमा अस्पताल प्रशासनले पनि खबरदारी गर्नुपर्ने बताए । समितिको बैठकमा कर्मचारी बिदा तथा व्यवस्थापन, डेन्टल चिकित्सक करार नियुक्ति, एम्बुलेन्स सेवा, विद्युत् लाइन जडानलगायतका विषयमा पनि छलफल गरिएको थियो । जिल्ला अस्पतालमा भएको एम्बुलेन्स सेवा प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

उद्योग वाणिज्य सङ्घ भोजपुरका अध्यक्ष कर्णबहादुर मोक्तानले कार्यविधिबिना एम्बुलेन्स सञ्चालन हुँदा प्रभावकारी नहुने भएकाले चालकलाई समेत जवाफदेही बनाउन कार्यविधि बनाउनुपर्ने बताउनुभयो । बैठकमा अस्पताल विकास समिति सदस्य, अस्तपताल प्रशासनका कर्मचारी, पत्रकारलगायतको सहभागिता रहेको थियो । rss

प्रतिक्रिया