बिहीबार, वैशाख १३, २०८१

जुम्ला विमानस्थल

सुनील उलक २०८० जेठ २६ गते ८:४३

२०२० सालमा राजा महेन्द्र सुर्खेत देखि पैदल यात्रामा निस्केका थिए । रारा तालको यात्रामा निस्केका उनलाई आफू पुग्न निकै कठिन भएको तथा यातायातबाट पूर्णरुपमा टाढा रहेको जुम्लालाई यात्राको लागि सहज बनाउन प्रयास गर्न लगाए । जुम्ला जस्तो भौगोलिक रुपले बिकट ठाँउमा यातायातका अन्य बिकल्प तत्काल सम्भव नभएको देखेपछि राजा महेन्द्रको बिशेष अगुवाइमा विमानस्थल बनाउने शुरुवात भयो ।

विमानस्थल बन्ने र राजधानी एवं नेपालगंजसंग सहज आवत जावत गर्न सकिने सुनेपछि जुम्लावासी अति खुशी भए । विमानस्थल बनाउनको लागी ठूला ठूला साधनहरु त्यहाँसम्म लग्न असम्भव थियो । यसर्थ स्थानियहरुको कर्मठ हातहरुले जमिन सम्याउने तथा ढुङ्गाहरु फुटाउने काम भयो । जनताहरुले साथ दिए । २०२८ सालको माघमा राजा महेन्द्रको स्वर्गारोहण पछि नयाँ राजा बनेका वीरेन्द्रले राजगद्धी सम्हाले पछि गाउँ गाउँका जनताहरुसंग प्रत्यक्ष भेटेर सम्वाद गर्ने कार्यक्रम नै राखे । यो कार्यक्रमको शुभारम्भको लागि राजा वीरेन्द्रले जुम्ला नै रोजे । सबैभन्दा बिकट ठाँउबाट नै शुभारम्म गर्ने मनसायले जुम्ला पुगेका थिए ।

केही सम्याइएको नयाँ विमानस्थलमा नै राजाको हेलिकोप्टरको पहिलो आगमन भयो । यो भ्रमण राजा भएपछि राजधानी बाहिरको पहिलो भ्रमण पनि थियो । राजा बनेपछि नै पहिलो भ्रमणको रुपमा जुम्ला नै रोजिदिदा जुम्लावासी निकै खुशी भएका थिए ।

यसको केही समय पछि २०२९ सालको दशैको घटस्थापनाको एक हप्ता अगाडि अर्थात २०२९ असोज १५ गतेबाट सर्वसाधारणको लागी पनि विमानस्थल सुचारु भएको थियो । यो विमानस्थलको स्थापना पछि देशकै सबैभन्दा पिछडिएको कर्णाली अञ्चल राजधानीसंग नजिकिन पायो । तर बिकास भने यसले खासै देख्न पाएन । अझै पनि कर्णाली अञ्चल कतिपय कारणले पिछडिएको छ ।

प्रतिक्रिया