शुक्रबार, चैत १६, २०८०

पानीको पर्खाइमै बिते दलित बस्तीका दुई दशक

नेपालखोज २०८० जेठ २७ गते १२:३५

गलकोट । बागलुङ नगरपालिका–८ सिगाना लामीचौरको दलित बस्तीमा खानेपानीको हाहाकार भएको २० वर्ष पुग्यो । दुई सय घरपरिवार रहेको एउटै गाउँमा नेता तथा सरोकारवाला खानेपानीको सपना बाँड्दै चुनावका लागि मात्रै पुग्ने गर्दछन् ।

निर्वाचनको समयमा खानेपानीको आश्वासन बाँड्न दलित बस्तीमा पुग्ने नेता त्यसपछि फर्केर जाँदैनन् । देशमा सङ्घीयता आएसँगै खानेपानी आउने सपना बोकेका स्थानीय दलित समुदायले सात वर्षसम्म पानी ल्याउन नसकेको गुनासो गरेका छन् ।

बागलुङ–८ सिगाना लामाचौर दलित बस्तीमा बर्षौदेखि खानेपानीको चरम सङ्कट भए पनि हालसम्म उक्त सङ्कट टार्न सकिएको छैन । निर्वाचनताका मात्रै खानेपानीको नारा घन्किने दलित समुदायमा हालसम्म पानी आउन सकेको छैन ।

चुनावमा भोट बैंकका रूपमा चिनिँदै आएको दलित बस्तीकै कारण धेरैले चुनावसमेत जित्दै आए पनि चुनावताको समयमा गरिएको खानेपानी पुर्याउने वाचा भने अझै पूरा हुन सकेको छैन ।

सो नगरपालिकाभित्रकै सबैभन्दा बढी सुक्खाग्रस्त क्षेत्रका रूपमा चिनिएको लामीचौर दलित बस्ती खानेपानीको सपना दुई दशकभन्दा बढी समय बित्दासमेत पूरा हुन नसकेको हो । खानेपानीको आशामा भोट हाल्दै आएका जनता पानीको अभावमा काकाकुल जस्तै बन्दै आएको स्थानीय विष्णु परियारले बताए ।

प्रतिक्रिया