बिहीबार, जेठ ३, २०८१

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलमा पुलिस र आर्मी सेमिफाइनल प्रवेश

नेपालखोज २०८० जेठ ३१ गते १०:५२

काठमाडौं । मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।

मंगलबार साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई हराएसँगै पुलिस र आर्मी समूह बि को विजेता र उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका हुन् । पुलिसले लुम्बिनीलाई २५–८, २५–१२ र २५–७ को सेटमा जित निकालेको हो ।

यसअघि मंगलबार बिहान भएको खेलमा लुम्बिनी प्रदेशलाई सोझो सेटमा हराउँदै आर्मीले सेमिफाइनलको यात्रालाई जीवितै राखेको थियो । आर्मी पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

त्यस्तै, समूह ए मा रहेको बागमतीले आयोजक कोशी प्रदेशलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । समूह ए मै रहेको एपिएफ ६ अंकका साथ समूह विजेता बन्दा बागमती ३ अंकसहित समूह उपविजेता बन्यो ।

पहिलो सेमिफाइनल खेलमा आर्मीले एपिएफको सामना गर्नेछ भने दोस्रो खेल बागमती प्रदेशविरुद्ध पुलिसले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन् । बेस्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिबेरोलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रादेशिक रंगशाला इटहरीमा भइरहेको प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया