बिहीबार, जेठ ३, २०८१

भारतसँग अंक बाँडेपछि नेपालको सेमिफाइनल सम्भावना कायमै

नेपालखोज २०८० जेठ ३२ गते १५:५१

काठमाडौं । नेपालले एसिसी महिला इमर्जिङ टिम्स टि२० एसिया कपमा वर्षाको कारण भारतसँग अंक बाँडेको छ । लगातार वर्षा र झिजेको आउट फिल्डको कारण खेलको टस पनि हुन नसकी दुबै टोलीले एक एक अंक बाँडेका हुन् ।

जारी प्रतियोगितामा नेपाली टोलीको यो दोस्रो खेल थियो । नेपाली टोली आफ्नो पहिलो खेलमा भने पाकिस्तान ’ए’ सँग पराजित भएको थियो । वर्षाका कारण पाकिस्तान र हङ्कङबीचको खेल पनि हुन सकेन ।

नेपालले पाकिस्तानलाई ८७ रनमा अलआउट गरेको थियो । तर, जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २० ओभरमा ७८ रनमात्र बनाउन सकेको थियो । नेपाली टोली दुई खेलबाट एक अंक जोड्दै तालिकाको तेस्रो स्थानमा आसिन छ ।

समूह ‘ए’ मै रहेको भारत दुई खेलबाट तीन अंक जोड्दै पहिलो स्थानमा आसिन छ । तालिकाको दोस्रो स्थानमा आसिन पाकिस्तानले पनि दुई खेलबाट तीन अंक जोडेको छ । आयोजक राष्ट्र हङ्कङ दुई खेलबाट एक अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ ।

भारतले आफ्नो पहिलो खेलमा हङकङलाई नौ विकेटले हराएको थियो । प्रतियोगिताको समूह ‘बी’ मा पनि सबै टोलीले दुई-दुई खेल खेलिसकेका छन् । बंगलादेश तीन अंकसहित पहिलो, श्रीलंका तीन अंकसहित दोस्रो, यूएई दुई अंकसहित तेस्रो र खाता खोल्न नसकेको मलेसिया चौथो स्थानमा छन् ।

नेपाल सेमिफाइनलमा पुग्न पहिला शनिबार घरेलु टोली हङकङमाथि सानदार फराकिलो जित हात पार्नुपर्ने हुन्छ । पाकिस्तानलाई नेटरनरेटमा पछि पार्न सक्नुपर्छ ।

नेटरनरेट माइनसमा हुँदा सामान्य जितले भने पर्याप्त हुनेछैन । यदि हङकङमाथि फराकिलो जित हात पारेको खण्डमा र अन्तिम खेलमा पाकिस्तान पराजित भएमा दुबै टोलीको ३-३ अंक हुनेछ ।

यो अवस्थामा नेपाल नेटरनरेटमामाथि रहँदै सेमिफाइनलमा पुग्न सक्छ । भारत र पाकिस्तान ए बीच शनिबार खेल हुनेछ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । भारतले पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।

प्रतिक्रिया