सोमबार, वैशाख १७, २०८१

पोखरामा ड्रागन बोट रेस फेस्टिभल

नेपालखोज २०८० असार २ गते ६:२२

पोखरा । पोखरामा आगामी साता आयोजना हुने नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यही असार ८ र ९ गते उक्त फेस्टिभलको आयोजना गर्न लागिएको हो । यस प्रकारको फेस्टिभल दक्षिण एसियामै पहिलोपटक हुन लागेको आयोजकहरुले जनाएका छन् ।

कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास तथा पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल सञ्चालन हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताउनुभएको छ । कार्यक्रममा सहभागिताका लागि चीनको लिङ्जी नगरबाट उपप्रमुखको नेतृत्वमा ६० जनाको टिम चार्टर उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेछ । यो फेस्टिभलको सहयोगी संस्था पोखरा पर्यटन परिषद् तथा चाइनिज ओभरसिज एशोसियसन पोखरा हुन् ।

बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरबीच सझदारी हस्ताक्षर भएको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले चीन सरकार र दुतावासको आयोजनामा फेस्टिभल हुनु पोखराका लागि शुभ समाचार रहेको बताएका छन् । उनले फेवातालमा हुने बोट रेसका लागि आवश्यक सबै सुरक्षा प्रबन्ध अपनाइने बताए । चीनले यसप्रकारको बोट फेस्टिभल विभिन्न ५० भन्दा बढी देश तथा क्षेत्रमा आयोजना गर्दै आएको नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ सिनले बताएका छन् ।

उनले फेस्टिभलले नेपाल र चीनका जनताबीचको सम्बन्धलाई थप प्रगाढ बताउने विश्वास व्यक्त गरे । रेसका लागि चीनको केरुङ नाका हुँदै आठवटा विशेष खालका डुङ्गा, अन्य आवश्यक सामग्री र वोट रेस प्रशिक्षक जेठको अन्तिम साता पोखरा ल्याइएका थिए । प्रतियोगितामा देशका सातै प्रदेशबाट र चीनबाट गरी १ सय २० प्रतियोगी सहभागी हुनेछन् । दुई सय र पाँच सय मिटरमा दुई भागमा आठ वटा बोट मार्फट यो रेस संचालन हुनेछ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भने ‘दक्षिण एशियामा पहिलो पटक आयोजना गर्न लागिएको बोट रेस फेस्टिभलले नेपालको विश्वभर प्रवद्र्धन हुनेछ । यसबाट भविष्यमा अझ बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।’ फेस्टिभलमा नेपाली र चिनियाँ परिकारहरुको प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुनेछ ।

प्रतिक्रिया