सोमबार, वैशाख ३१, २०८१

अपडेट : युगाण्डाको एक विद्यालयमा आक्रमण, सैंतीस जनाको मृत्यु

नेपालखोज २०८० असार २ गते १८:३५

एमपोन्ड्वे, युगाण्डा । इस्लामिक स्टेट (आईएस) समूहसँग सम्बन्धित लडाकू समूहले एक विद्यालयमा गरेको आक्रमणमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । आक्रमणलाई युगाण्डाका सेना र प्रहरी अधिकारीले एक दशकयताकै सबैभन्दा ठूलो आक्रमण गरी अधिकांश विद्यार्थीसहित ३७ जनाको हत्या गरेको शनिबार बताएका छन् ।

डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो नजिकैको कासेसे जिल्लाको एमपोन्ड्वेमा रहेको एक माध्यमिक विद्यालयमा स्थानीय समयअनुसार शुक्रबार राति सीमापारीबाट आई गरेको आक्रमणपछि सेनाले एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) का लडाकूहरूलाई पछ्याइरहेको बताएको छ । अनुसन्धानकर्ताहरूले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको द्वन्द्वग्रस्त पूर्वी क्षेत्रमा सक्रिय सबैभन्दा घातक समूहमध्ये एक एडीएफले राति अबेरसम्म गरेको निर्मम आक्रमणमा छात्रावासमा आगजनी गरेको र विद्यार्थीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको बताएका छन् ।

युगान्डा पिपुल्स डिफेन्स फोर्सेज (यूपीडीएफ) का प्रवक्ता फेलिक्स कुलाइगीले एक विज्ञप्ति जारी गर्दै भने, ‘दुर्भाग्यवश ३७ जनाको शव फेला परेको छ र उनीहरूलाई ब्वेरा अस्पतालको शवगृहमा पठाइएको छ । आठ जना घाइते भएका छन् भने अन्य छ जनालाई आक्रमणकारीले अपहरण गरी कङ्गोको सीमामा रहेको भिरुङ्गा राष्ट्रिय निकुञ्जतर्फ लगेका छन् ।’

यूपीडीएफले अपहरणमा परेका विद्यार्थीहरूलाई बचाउन अपराधीहरूको खोजी सुरू गरेको जनाएको छ । कासेसका लागि आवासीय आयुक्त जो वालुसिम्बीले एएफपीलाई बताएअनुसार मृतकमध्ये कम्तीमा २५ जना विद्यालयका विद्यार्थी भएको पुष्टि भएको छ । सन् २०१० मा कम्पालामा भएको दुईवटा बम विष्फोटमा सोमालियामा पूभाव रहेको अल–शबाब समूहले गरेको आक्रमणमा ७६ जनाको मृत्यु भएपछि युगान्डामा भएको यो सबैभन्दा घातक आक्रमण हो । rss

प्रतिक्रिया