शनिबार, जेठ ५, २०८१

आजदेखि अनिश्चितकालिन स्कुल बन्द

नेपालखोज २०८० असार ३ गते ६:०९

काठमाडौं । आज आइतबारदेखि सामुदायिक विद्यालयहरू अनिश्चितकालिन बन्दको घोषणा गरिएको छ । सामुदायिक विद्यालय कर्मचारी परिषद्ले आफूहरूको माग सम्बोधनका लागि दबाब दिने उद्देश्यका साथ बन्दसहितको आन्दोलनको घोषणा गरेको हो । 

परिषद्का महासचिव शान्तिनाथ योगीले ७७ वटै जिल्ला कार्यसमिति तथा ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई पठाएको सर्कुलरमा बन्दका कार्यक्रम सशक्त रूपमा सञ्चालन गर्न निर्देशन दिइएको छ ।  परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको विभिन्न सेवा सुविधा सहित पेसागत स्थायित्वको माग  राख्दै आएको छ ।

यस क्रममा नेपाल सरकारको आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको सेवा सुविधाका विषयहरू सम्बोधन गरिने उल्लेख गरिएको थियो । तर  बजेटमा उक्त विषय छुटाइएको भन्दै परिषद् हाल आन्दोलनमा छ । 

गत जेठ १७ को पत्रकार सम्मेलनबाट घोषित आन्दोलनका कार्यक्रमहरूमध्ये पहिलो र दोस्रो चरणका कार्यक्रमहरू सम्पन्न हुँदा समेत सरकार आन्दोलनप्रति गम्भीर नभएको बरु प्रहरी दमन भएकाले पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि  सामुदायिक विद्यालय बन्द गर्न लागिएको योगीको भनाइ छ ।

प्रतिक्रिया