मंगलबार, जेठ १, २०८१

ग्रीक डुंगा दुर्घटनामा सम्लग्न रहेको आरोपमा १० व्यक्ति पक्राउ

नेपालखोज २०८० असार ४ गते ६:३८

काठमाडाैं । ग्रीसको तटीय क्षेत्रमा दर्जनौं आप्रवासी डुबानमा फसेको केही दिनपछि पाकिस्तानी अधिकारीहरूले १० जना कथित मानव तस्करहरूलाई पक्राउ गरेको अधिकारीहरूले आइतबार बताएका छन् । प्रधानमन्त्री शहबाज सरिफले मानव तस्करीमा संलग्न भएको पुष्टि भएमा उनीहरूलाई तत्काल कारबाही गर्न आदेश दिनुभएको छ ।

हरेक वर्ष, हजारौं युवा पाकिस्तानीहरू राम्रो जीवनको खोजीमा अवैध रूपमा युरोप प्रवेश गर्ने प्रयासमा खतरनाक सामुद्रिक मार्ग हुँदै यात्रामा निस्कन्छन् । ग्रीसको पेलोपोनी प्रायद्वीपमा बुधबार डुबेको डुङ्गामा सवार दर्जनौँ पाकिस्तानी नागरिक रहेको र त्यसमा कम्तीमा ७८ जनाको मृत्यु हुनुका साथै सयौं बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार पाकिस्तान प्रशासित काश्मिरमा नौ जनालाई हिरासतमा लिइएको छ भने एक जनालाई गुजरातमा हिरासतमा लिइएको छ ।

पाकिस्तान प्रशासित काश्मिरका एक स्थानीय अधिकारी चौधरी शौकतले भने, ‘सम्पूर्ण प्रक्रियालाई सहजीकरण गर्न संलग्न भएको आरोपमा उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगले संयुक्त विज्ञप्ति जारी गर्दै डुङ्गामा ४०० देखि ७५० जनासम्म सवार रहेको बताएका छन् । शनिबार पाकिस्तानको विदेश मन्त्रालयले १२ जना नागरिक बाँच्न सफल भएको बताएको थियो तर डुङ्गामा कति जना सवार थिए भन्ने बारे कुनै जानकारी छैन ।

एक अध्यागमन अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै मृतक सङ्ख्या २०० नाघ्न सक्ने बताए । ‘मानव बेचबिखनजस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरूविरुद्ध लड्ने प्रयासलाई तीव्रता दिन प्रधानमन्त्रीले कडा निर्देशन दिनुभएको छ,’ उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । राजनीतिक उथलपुथल र अर्थतन्त्रको पतनको सङ्घारमा पुगेको कारण दशौं हजार पाकिस्तानीहरू कानुनी र गैरकानुनी रूपमा देश छोड्न बाध्य भएका छन् । पूर्वी पञ्जाब र उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तका युवाहरू इरान, लिबिया, टर्की र ग्रीस हुँदै अवसरको खोजीमा हरेक वर्ष अवैध रूपमा युरोप प्रवेश गर्नेगरेका छन् ।

प्रतिक्रिया