सोमबार, वैशाख ३१, २०८१

डिजिटल सक्षमता पहिचान गर्न डिजिटल नेपाल कन्क्लेभ

नेपालखोज २०८० असार ५ गते ८:५५

काठमाडौं । डिजिटल सक्षमता पहिचान गर्न डिजिटल नेपाल कन्क्लेभ हुने भएको छ ।

आईसीटी फाउन्डेसन नेपालको आयोजनामा विभिन्न छ वटा ‘थिम’मा आधारित रहेर यही असार ८ र ९ गते हुवावे डिजिटल नेपाल कन्क्लेभ–२०२३ र मोबाइल नेपाल कंग्रेस हुने आयोजक संस्थाका अध्यक्ष काठमाडौंमा राजन लम्सालले जानकारी गराए ।

कन्क्लेभमा विभिन्न देशका आईसीटी विज्ञहरूसहित ७० भन्दा बढी स्रोत व्यक्ति रहेका छन् । द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा विभिन्न छ थिममा १५ भन्दा बढी सत्र सञ्चालन हुनेछन् । दुई दिने कन्क्लेभमा दक्षिण कोरिया, सिङ्गापुर, भारत र बङ्गलादेशबाट विषय विज्ञहरूको उपस्थिति रहनेछ ।

‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रूपान्तरणका लागि नेपालको सक्षमता र यसका लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिनेछ ।

अध्यक्ष लम्सालले भने, ‘कन्क्लेभको पहिलो दिनको सत्रमा डिजिटल पूर्वाधार, डिजिटल परिचय (आइडेन्टिटी) र डिजिटल गभर्नेन्ससम्बन्धी सत्रहरू रहेका छन् । दोस्रो दिन डिजिटल इन्नोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमताको सत्रहरू रहेका छन् । यसैगरी कन्क्लेभमा डेटा गभर्नेन्स र डिजिटल सेक्युरिटी, डिजिटल लिडरसिप र डिजिटल सक्षमताका लागि अबको बाटो सत्रहरू सञ्चालन हुनेछन् ।’

कन्क्लेभको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै आईसी फाउन्डेसन नेपालका संरक्षक वीरेन्द्रकुमार मिश्रले सरकारले डिजिटल नेपाल फ्रेमवर्क–२०७६ जारी गरेको र सूचना प्रविधि विधेयक छलफलका क्रममा रहेकाले प्रयोगकर्ताको डाटा सुरक्षित गर्न नेपाल सरकारले एउटा मापदण्ड तयार गर्नुपर्ने बताए ।

आईसीटी म्यानेजमेन्ट एक्सपर्ट हिमपाल श्रेष्ठले स्थानीय तहहरूको क्षमता र प्रदेशहरूको अवस्थाको अध्ययन गर्दै विभिन्न विषयवस्तुमा आधारित रहेर डिजिटल सरकार बनाउन अगाडि बढ्ने प्रयास हुने बताए ।

‘डिजिटल नेपाल ओझेलमा परेको हो कि भन्ने भान भइरहेको छ । सरकारी नीतिगत र व्यवस्था र सङ्घसंस्थाको अवस्था, सूचना सञ्चार प्रविधि तथा उद्योगको अवस्थालगायतमा आधारित रहेर कन्क्लेभ हुनेछ’ विशेषज्ञ श्रेष्ठले भने, ‘स्थानीय तहहरूको क्षमता र प्रदेशहरूको अवस्थाको अध्ययन गर्दै विभिन्न विषयवस्तुमा आधारित रहेर डिजिटल सरकार बनाउन अगाडि बढ्ने प्रयास हुनेछ ।’

गत वर्ष असार ३ र ४ मा डिजिटल रूपान्तरणको नारासहित डिजिटल नेपाल कन्क्लेभ आयोजना भएको आयोजक संस्थाका अध्यक्ष लम्सालले जनाए ।

कन्क्लेभको पहिलो दिन असार ८ गते बिहान १० बजेदेखि हुने उद्घाटन कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको चार वटा कि–नोट र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँगको पावर संवाद सत्र हुने जानकारी गराइएको छ ।

कन्क्लेभसँगै शीर्ष प्रायोजक हुवावेले छुट्टै हलमा मिनी मोबाइल वर्ल्ड कंग्रेसको रूपमा मोबाइल नेपाल कंग्रेसको आयोजना गर्ने आयोजक संस्थाका अध्यक्षले जानकारी गराए ।

कन्क्लेभमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासङ्घलगायतको सहयोग रहेको जानकारी गराइएको छ ।

प्रतिक्रिया