मंगलबार, वैशाख २५, २०८१

युक्रेन आक्रमणपछि रूसी तेलको चीनतर्फको आयातमा अत्यधिक वृद्धि

नेपालखोज २०८० असार ५ गते १९:०८

मस्को । मस्कोले फेब्रअरी २०२२ मा युक्रेनमा गरेको आक्रमणपछि गत महिना रूसी तेलको चिनियाँ आयात उच्च स्तरमा पुगेको भन्सारको तथ्याङ्कले मङ्गलबार देखाएको छ । चीन रूसको सबैभन्दा ठूलो आर्थिक साझेदार हो र गत वर्ष दुई देशबीचको व्यापार १९० अर्ब अमेरिकी डलर पुगेको थियो । मे महिनामा चीनले रूसबाट ९७ लाख १० हजार टन तेल आयात गरेको थियो ।

जुन फेब्रुअरी २०२२ को तुलनामा दोब्बरभन्दा बढी हो । यो आँकडाले दुई देशबीचको आर्थिक सम्बन्धको व्यापक प्रगाढतालाई प्रतिबिम्बित गरेको छ । युक्रेनमा मस्कोको आक्रमणपछि मे महिनामा रूसको चीनसँगको समग्र व्यापार अहिलेसम्मको उच्च स्तरमा पुगेको छ । गत वर्षको अन्त्यमा ऊर्जाको मागमा कटौती गरेको कडा शून्य–कोभिड उपायहरूको अन्त्यपछि चीनको पुन: उत्थान अर्थव्यवस्थाको सन्दर्भमा पनि यी घटनाहरू देखा परेको हुनसक्ने अनुमानहरू पनि गरिएका छन् । गत मार्चमा भएको शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२३ मा व्यापारलाई २०० अर्ब अमेरिकी डलर पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सन् २०२२ मा युक्रेनमा मस्कोले गरेको आक्रमणलाई लिएर पश्चिमा मुलुकले गरेको कारबाहीका कारण रूसको ग्यास निर्यातमा गिरावट आएको थियो । यसै महिना रूसको अर्थतन्त्रका बारेमा बोल्दै पुटिनले गत वर्षको दोस्रो त्रैमासिक अकल्पनीय प्रतिबन्धपछि ‘सबैभन्दा कठिन’ भएको बताएका थिए ।

युरोपले अन्य ऊर्जा आपूर्तिकर्ताहरूको खोजी गर्दा मस्कोले चीनसहित वैकल्पिक बजारको खोजी गर्दै एशियाली मुलुकसँगको ब्यापारलाई महत्व दिएको छ । चीन यस पहिले नै साइबेरिया पाइपलाइनद्वारा जोडिएको छ । राष्ट्रपति सीसँगको वार्तापछि पुटिनले नयाँ ‘पावर अफ साइबेरिया–२’ परियोजनाका लागि ‘सबै सम्झौता भएको’ बताउनुभएको थियो ।

त्यो पाइपलाइनले वार्षिक रूपमा चीनमा ५० अर्ब क्युबिक मिटर अर्थात् लगभग रूस देखि जर्मनी सम्म परित्यक्त ‘नोर्ड स्ट्रीम–२’ परियोजनाको कूल क्षमताको बराबर प्राकृतिक ग्याँसको परिवहनको सुविधा प्रदान गर्न सक्छ । मस्को नयाँ पाइपलाइन अगाडि बढ्नेमा विश्वस्त छ, तर बेइजिङले अहिलेसम्म स्पष्ट प्रतिबद्धतालाई बेवास्ता गरेको छ । चीन र रूसले हालैका वर्षहरूमा आर्थिक सहयोग र कूटनीतिक सम्पर्क बढाएका छन् र युक्रेनमाथिको आक्रमणपछि उनीहरूको रणनीतिक साझेदारी अझ घनिष्ठ हुँदै गएको छ ।

बेइजिङले युद्धमा आफू तटस्थ पार्टी भएको दाबी गरे पनि मस्कोको निन्दा गर्न अस्वीकार गरेको र रूससँगको सम्बन्धका कारण पश्चिमा देशहरूले चीनको आलोचना गर्दै आएका छन् । विश्लेषकहरूका अनुसार रूससँगको सम्बन्धमा चीनको प्रभाव उच्च छ । मस्कोको अन्तर्राष्ट्रिय अलगाव गहिरिँदै जाँदा चीनको सम्बन्ध बढ्दै गएको छ । गत फेब्रुअरीमा बेइजिङले एक पत्र जारी गर्दै द्वन्द्वको ‘राजनीतिक समाधान’ का लागि आह्वान गरेको थियो, जसले गर्दा पश्चिमा देशहरूले रूसले कब्जा गरेको अधिकांश भूभाग आफ्नो कब्जामा राख्न सक्ने बताएका थिए ।

मार्चमा मस्कोमा भएको शिखर सम्मेलनमा सीले पुटिनलाई बेइजिङ भ्रमणको निम्तो दिएका थिए र दुई नेताले सम्बन्ध ‘नयाँ युगमा प्रवेश गरेको’ घोषणा गरेका थिए । गत महिना युक्रेन आक्रमणपछि रूसी अधिकारीको चीन भ्रमणका क्रममा प्रधानमन्त्री मिखाइल मिशुस्तिनसँगको भेटमा चिनियाँ नेताले मस्कोको ‘प्रमुख स्वार्थ’मा आफ्नो ‘दृढ समर्थन’ व्यक्त गरेका थिए ।

प्रतिक्रिया