आइतबार, जेठ ६, २०८१

रुस सङ्कटकाबीच अमेरिका सहयोगीहरूसँग निकट समन्वयमा रहने

नेपालखोज २०८० असार १० गते ११:४५

वाशिङ्टन डिसी । रुसमा देखिएको आकस्मिक सङ्कटका बीच संयुक्त राज्य अमेरिका आफ्ना सहयोगीहरूको निकट समन्वयमा रहने विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् ।

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलाइत र युरोपेली संघका विदेशमन्त्रीहरूसँग कुराकानी गर्दै उनले अमेरिका निकटको समन्वयमा रहने बताएका हुन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्री ब्लिन्केनले क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र युनाइटेडका विदेशमन्त्रीहरूसँग यस विषयमा कुरा गरेको पुष्टि गरेका छन् ।

मन्त्री ब्लिन्केनले युक्रेनका लागि संयुक्त राज्य अमेरिकाले गर्दै आएको समर्थन परिवर्तन नहुने कुरा समेत दोहोर्याएका छन् । नयाँ घटनाक्रम विकसित हुँदै जाँदा संयुक्त राज्य अमेरिका आफ्ना सहयोगी र साझेदारहरूसँग नजिकको समन्वयमा रहनेछ, विज्ञप्तिमा भनिएको छ ।

वाग्नर लडाकु प्रमुख येभगेनी प्रिगोजिनले टेलिग्राम पोस्टमा विद्रोहको घोषणा गरेपछि अमेरिकाको यो टिप्पणी सार्वजनिक भएको हो । लडाकु प्रमुखले लडाकुहरू युक्रेनबाट रूसी सेनाको विरूद्ध दक्षिणी रूसतर्फ सीमा पार गर्दै अगाडि बढेको बताएका थिए ।

यसै बीच उनले आफ्ना लडाकुले आफ्नो बाटोमा अवरोध गर्ने जो कोहीलाई नष्ट गर्ने घोषणा पनि गरेका थिए । उनले भनेका छन् । हामी अगाडि बढिरहेका छौं र अन्त्यसम्म बढ्नेछौं । वाग्नर लडाकुहरू रुसको रोस्तोभ शहर प्रवेश गरिरहेको बताइएको छ ।

उनले चेकपोइन्टहरूमा कुनै प्रतिरोध नभएको र आफ्ना लडाकुहरू बालबालिका विरुद्ध भने नलडेको पनि दाबी गरेका छन् ।प्रिगोजिनको सो अभिव्यक्तिपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै वाग्नर समूहको सशस्त्र विद्रोहू पिठमा छुरा धस्ने देशद्रोहको बाटो भएको टिप्पणी गरेका छन् ।

उनले रुसी सेनाका विरुद्ध सशस्त्र विद्रोह गर्ने देशद्रोहीहरूलाई कडा कारबाही गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यता प्रिगोजिनले भने रुसी राष्ट्रपतिले गम्भीर गल्ती गरेको भन्दै विद्रोही समूह देशभक्त रहेको दाबी गरेको वाशिङ्गटन पोस्टले उल्लेख गरेको छ ।

आफ्नो प्रेस सेवाद्वारा शनिबार पोस्ट गरिएको अडियो सन्देशमा प्रिगोजिनले भनेका छन् । मातृभूमिप्रति विश्वासघात गर्दै राष्ट्रपतिले गम्भीर गल्ती गरेका छन् ।

देशसलाई भ्रष्टाचार, छलछाम र नोकरशाहीू को देश भनेर सम्बोधन गर्दै उनले विद्रोही समूहले लडाइँ जारी राख्ने बताएका छन् ।विद्रोही कमाण्डरले भनेका छन् ।

हामी हाम्रो मातृभूमिका देशभक्त हौं, हामी लड्दै आएका छौं र लडिरहने छौं । हामी राष्ट्रपति, सेना वा अरू कसैको अनुरोध स्वीकार गर्दैनौं किनभने देश भ्रष्टाचार, छलछाम र कसैको तजबिजको दलदलमा फसिरहन दिदैनौं ।

प्रतिक्रिया