शनिबार, जेठ ५, २०८१

काठमाडौं महानगरका सामुदायिक विद्यालयका शिक्षकलाई मासिक तलब

नेपालखोज २०८० असार १० गते १३:२२

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले मासिक तलब पाउने भएका छन् । त्यसका लागि ३० करोडको सोध भर्ना कोष खडा गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामुदायिक विद्यालयका शिक्षकको मासिक तलब भुक्तानी गर्न ३० करोडको सोध भर्ना कोष बनाइएको जानकारी दिइन् । हाल शिक्षकहरुले चौमासिक रुपमा तलब पाउँदै आएका छन् ।

महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबभत्ता मासिक रूपमा भुक्तानी गर्न ३० करोडको छुट्टै सोधभर्ना कोषको व्यवस्था गरेको उनले बताइन् ।

सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको लागि मासिक भत्ता वृद्धि गरिएको र आवश्यक रकम प्रबन्ध गरिएको डंगोलले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ मा महानगरपालिकाको समग्र शिक्षा क्षेत्रतर्फको विभिन्न कार्यक्रम संचालन गर्न तथा नियमित क्रियाकलापको लागि आन्तरिक श्रोतबाट १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरिएको छ ।

प्रतिक्रिया