आइतबार, जेठ ६, २०८१

हज यात्रा सुरु, २५ लाख तीर्थयात्री साउदी पुग्ने 

नेपालखोज २०८० असार ११ गते १२:०१

उजेन्सी । साउदी अरबमा हज यात्रा सुरु भएको छ । यसका लागि यस पटक २५ लाख तीर्थयात्री साउदी अरब पुग्ने बताइएको छ । यस्तोमा यसलाई इतिहासकै सबैभन्दा ठुलो तीर्थयात्रा बताइदैछ । 

हिजो आइतबारदेखि मक्कामा तवाफ र काबाको परिक्रमा गरी हज यात्रा सुरु गरिएको हो । सेतो पहिरन लगाएका मुस्लिम तीर्थयात्रीहरूको भीडले इस्लामको सबैभन्दा पवित्र स्थल काबाको परिक्रमा गर्छ। उनीहरूको प्रार्थना अहिले साउदीको आकाशमा गुन्जिन थाली सकेको छ ।

हरेक वर्ष हुने हज यात्रा यस पटक विशेष रहने बताइदैछ । यो वर्ष हजमा तीर्थयात्रीको कीर्तिमानी भीड रहने विश्वास गरिन्छ । साउदीको हज र उमराह मन्त्रालयका एक अधिकारी भन्छन् -यो वर्ष हामी इतिहासकै सबैभन्दा ठुलो हज यात्राको साक्षी हुन लागेका छौँ । यस पटक २५ लाखभन्दा बढी मुस्लिम हजमा सहभागी हुने अपेक्षा गरिएको छ । 

कोरोना प्रतिबन्ध पछिको पहिलो हज

सन् २०२० मा लागू गरिएको कोरोना भाइरस महामारी सँग सम्बन्धित  प्रतिबन्धहरू अब पूर्ण रूपमा खुकुलो पारिएको छ। कोरोना महामारीका बेला २०२० मा १० हजार यात्रीले मात्र सहभागी हुन पाएका थिए भने २०२१ मा ५९ हजार र गत वर्ष १० लाखको सीमा थियो ।

इजिप्टका ६५ वर्षीय अब्देलाजिम भन्छन्, म मेरो जीवनको सबैभन्दा सुन्दर दिन बाँचिरहेको छु । उनले यहाँ आउन आवश्यक ६ हजार डलर तिरेका छन् । २० वर्ष बचत गरेर उनले उक्त रकम जुटाएका हुन् । 

स्थानीय समय अनुसार आइतबार साँझदेखि तीर्थयात्रीहरू मक्काको अल-मस्जिद अल-हरम वा ग्रान्ड मस्जिदबाट करिब आठ किलोमिटर टाढा मीनातर्फ जान थालेका छन् । त्यसअघि उनीहरू अराफात पर्वतमा भेला भएका थिए। यहाँ  पैगम्बर मोहम्मदले आफ्नो अन्तिम उपदेश यहाँ दिएको विश्वास गरिन्छ । 

४५ डिग्री तापक्रमको ठुलो चुनौती

तीर्थयात्रीहरूका लागि मीना तयार पारिएको छ, खाद्यान्न ल्याइएको छ र सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् । यद्यपि यो वर्षको हज चुनौतीपूर्ण छ । यस पटक तापक्रम ४५ डिग्री सेल्सियस पुगेको छ । 

साउदी अधिकारीहरूले ३२ हजार भन्दा बढी स्वास्थ्यकर्मी तथा हजारौँ एम्बुलेन्स तैयार अवस्थामा राखिएको कुरा बताउँदै  हिट स्ट्रोक, निर्जलीकरण र थकानका बिरामीहरूको उपचार गर्न तयार रहेको जानकारी दिएका छन् । 

इस्लामिक कानुन अनुसार प्रत्येक सक्षम मुस्लिम वयस्कले यो तीर्थ यात्रा गर्न आवश्यक छ। यसलाई यो धर्मको पाँच स्तम्भ मध्ये एक मानिन्छ । यसका लागि मानिसहरू जीवन भरको कमाइ दाउमा लगाउँछन् वा वर्षौँ लगाएर यात्राका लागि बचत गर्छन् ।

यद्यपि यो यात्रा शारीरिक एवं भावनात्मक रूपमा चुनौतीपूर्ण हुन सक्छ । भनिन्छ हज यात्रा गर्ने व्यक्तिले पापबाट मुक्ति पाउँछ भने उ अल्लाहको नजिक समेत हुन्छ । यश पटक जुन २६ देखि जुलाई १ सम्म हजको आयोजना हुनेछ भने इद अल-अधा अर्थात् बकरीद जुन २८ मा मनाइनेछ । यो तीर्थयात्राको मिति चन्द्र पात्रोमा निर्भर गर्दछ ।

हज धेरै महँगो छ। यसका बाबजुद हजको तीर्थयात्राले मानिसहरूमा आशा जगाउँछ । युद्ध र गरिबीले पीडित बाहेक यहाँ व्यापारिक देशबाट पनि मानिसहरू आउने गरेका छन् ।

प्रतिक्रिया