आइतबार, जेठ ६, २०८१

अमेरिकी चिप निर्माता कम्पनी माइक्रोन भारत आउँदै, २ अर्ब ७० करोड डलर लगानी

नेपालखोज २०८० असार ११ गते १४:२३

भारत । भारतलाई सेमिकन्डक्टर हब बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको सपना मूर्त रुप दिन अमेरिकी चिप निर्माता कम्पनी माइक्रोन भारत आउने भएको छ ।

माइक्रोनले भारतको गुजरातमा आफ्नो प्लान्ट लगाउने बताएको छ । यसअन्तर्गत कम्पनीले २ अर्ब ७० करोड डलर लगानी गर्नेछ। मोदीको अमेरिका भ्रमणमा यो सूचना आएको हो । मन्त्रीमण्डलले माइक्रोनलाई सेमिकन्डक्टर टेस्टिङ एन्ड प्याकेजिङ युनिटका लागि लगानी गर्न अनुमति दिएको छ ।

यो सम्झौताअन्तर्गत अमेरिकी सेमिकन्डक्टर कम्पनीले १ अर्ब ३४ करोड डलरबराबरको प्रोडक्सन लिंक्ड इन्सेन्टिभ (पिएलआई) पाउनेछ । मोदीले अमेरिका भ्रमणका बेला माइक्रोनका प्रमुख कार्यकारी अधिकृत सञ्जय मेहरोत्रासँग भेट गर्दै सेमिकन्डक्टर मेनुफ्याक्चरिङलाई बढावा दिन कम्पनीलाई भारत आउन आग्रह गरेका थिए। यसको परिणामस्वरु माइक्रोन गुजरातमा आउन लागेको हो ।

कम्पनीले सूचना जारी गर्दै माइक्रोन गुजरातमा सेमिकन्डक्टर टेस्ट र एसेम्बली प्लान्ट लगाउने जानकारी दिएको छ। दुई चरणमा निर्माण गरिने यो संयन्त्रमा कम्पनीले आफ्नो तर्फबाट ८२ करोड ५० लाख डलर लगानी गर्नेछ। बाँकी रकम भारतीयको केन्द्रीय तथा राज्य सरकारमार्फत जुटाउनेछ ।

कम्पनीका सिइओ सञ्जय मेहरोत्राका अनुसार स्थानीय सेमिकन्डक्टर इकोसिस्टम विकास गर्न भारतले उठाएको कदमले आफूहरू उत्साहित भएको बताएका छन् । साथै लगानीलाई सम्भव बनाउने भारत सरकार र सबै अधिकारी धन्यवादको पात्र रहेको समेत बताएका छन् ।

माइक्रोनले एक सूचना जारी गर्दै गुजरात प्लान्टको निर्माण यसै वर्षदेखि सुरु हुने बताएको छ। पहिलो चरणमा पाँच लाख वर्गफिट क्लिनरुम स्पेस हुनेछ, जुन २०२४ को अन्त्यसम्म सञ्चालनमा आउनेछ । साथै कम्पनीले दुवै चरणको काममार्फत पाँच हजारभन्दा बढी रोजगारी सिर्जना हुने र १५ हजार जनाले आगामी केही वर्षसम्म परोक्ष रुपमा रोजगारी मिल्ने बताएको छ।
INS

प्रतिक्रिया