आइतबार, वैशाख २३, २०८१

२७औं पटक प्रवेश परीक्षामा फेल भएका चिनियाँ करोडपति

नेपालखोज २०८० असार १४ गते ८:००

एक चिनियाँ करोडपति व्यापारी २७औं पटक पनि विश्वविद्यालयको प्रवेश परीक्षामा फेल भएका छन् । परीक्षाको नतिजा अनुसार ५६ वर्षीय लियाङ सिले ७५० मध्ये ४२४ अंक ल्याएका थिए । कुनै पनि चिनियाँ विश्वविद्यालयमा भर्ना हुन न्यूनतम ४५८ अंक चाहिन्छ ।

यो वर्ष करिब १ करोड ३ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए । उच्च शिक्षा हासिल गर्ने सपना देख्ने लियाङको कथा स्थानीय सञ्चारमाध्यममा प्रकाशित भएको थियो । लिआङले सन् १९८३ देखि दर्जनौं पटक प्रवेश परीक्षा दिएका छन् । यो वर्षको नतिजा देखेपछि आफू निकै निराश भएको र अब आफ्नो सपना पूरा नहुने महसुस गर्न थालेको उनले स्थानीय सञ्चारमाध्यमलाई बताए । सिचुआनबाट आएका लियाङले चिनियाँ सञ्चारमाध्यम टियानमु न्युजलाई भने, ‘मलाई विश्वास छ म यो गर्न सक्छु। तर अहिले म टुटेको छु ।’

सन् १९८३ मा १६ वर्षको उमेरमा उनले पहिलो पटक यो परीक्षा दिएका थिए । सन् १९९२ सम्म विभिन्न जागिर गरिरहँदा हरेक वर्ष आवेदन दिए । यो परीक्षाका लागि उनको उमेर सीमा १९९२ मा समाप्त भयो। उनले काम गरेको कारखाना सोही वर्ष दिवालिया भयो, त्यसैले लियाङले काठको थोक व्यापार सुरु गरे। चाँडै उनी विद्यार्थीबाट सफल व्यवसायी बने। एक वर्षभित्रै उनले १० लाख युआन कमाए ।

सन् २००१ मा चिनियाँ सरकारले गाओकाओको उमेर हद हटाएपछि उनीहरूले फेरि परीक्षा दिन थाले । २०१४ मा उनले स्थानीय पत्रिकालाई भनेका थिए, ‘यदि तपाई कलेज जानुहुन्न भने यो ठूलो लाजको कुरा हो। उच्च शिक्षा बिना जीवन पूर्ण हुँदैन।’ उनले परीक्षाको तयारीका लागि खेलकुद र अन्य कुराबाट पनि आफूलाई टाढा राखेका थिए ।

लिआङले भने, ‘विगतका वर्षहरूमा जस्तो नभई अब आफूलाई हारेको महसुस गर्न थालेको छु। अर्को वर्ष सायद हार मान्नेछु । यदि म अर्को वर्ष पनि असफल भएँ भने मेरो थर नै हटाइदिनेछु।’

प्रतिक्रिया