शनिबार, वैशाख १५, २०८१

शुक्लाफाँटामा ‘सिसीटिभी क्यामेरा’ जडान

नेपालखोज २०८० असार १८ गते १०:२६

कञ्चनपुर । शान्ति सु–व्यवस्था कायम राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले संवेदनशील १२ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको छ ।

अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि नगरपालिकाले सिसीटिभी क्यामेरा जडान गरेको हो । नगरपालिकाका पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने तीन बजार वन समिति, झलारी र कलुवापुर क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गरिएका छन् ।

बजार क्षेत्रमा हुने चोरी, लुटपाट, अन्य अपराधिक क्रियाकलाप, बढ्दै गएको सडक दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक समस्या समाधान गर्ने उद्देश्यले क्यामेरा जडानको कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए । उनका अनुसार सुरक्षाको दृष्टिकोणले संवेदनशील रहेका क्षेत्रको पहिचान गरी क्यामेरा जडानको कार्य गरिएको छ ।

कलुवापुर बजार क्षेत्रमा दुई, झलारी बजारमा दुई, प्रगति टोलमा दुई, शान्तिपथ रोडमा दुई, कलुवापुर वन क्षेत्रमा दुई, पूर्वपश्चिम राजमार्गको नयाँ प्रतिक्षालय नजिक दुई गरी १२ सिसीटिभी क्यामेरा जडान गरिएको छ । ‘सिसीटिभी क्यामेरा जडानको कार्यले प्रहरीलाई अपराध अनुसन्धान गर्ने कार्यमा निकै सघाउ पुग्छ’, उनले भने, ‘सिसीटिभी क्यामेराको कन्ट्रोल इलाका प्रहरी कार्यालय झलारीमा राखेका छौँ ।’

नगर क्षेत्रका अन्य सुरक्षाका र सवारी दुर्घटनाका दृष्टिकोणले संवेदनशील रहेका क्षेत्रमा अगामी आवमा सिसीटिभी क्यामेरा जडान गर्दै लैजाने योजना रहेको नगर प्रमुख रणबहादुर महराले बताए ।

‘सिसीटिभी क्यामेरा केही नगरपालिकाको आन्तरिक स्रोतबाट बजेट परिचालन गरी जडान गर्छौं ‘, उनले भने , ‘अपुग भएका ठाउमा दातृ निकाय, सङ्घीय सरकार र प्रदेश सरकारसँग बजेट जुटाइ जडान कार्य हुन्छ, यसका लागि योजना बनाइएको छ ।’

उनका अनुसार नगर क्षेत्रमा स्वचालित सडक बत्ती जडानको कार्य अगाडि बढाइएको छ । पूर्वपश्चिम राजमार्ग र वडाका महत्वपूर्ण स्थानमा सडक बत्ती जडान गरिएका छन् ।

प्रतिक्रिया