बिहीबार, वैशाख २०, २०८१

नेपाल उद्योग परिसंघ–पाकिस्तानी राजदूतबिच दुई पक्षीय हितका विषयमा छलफल

नेपालखोज २०८० असार २२ गते १५:०४

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीबीच दुई पक्षीय हितका विषयमा छलफल भएको छ ।

राजदूत हाशमीलाई परिसंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष अग्रवालले समग्र आर्थिक विकासका लागि सरकार एवं अन्य सरोकारवाला निकायहरूसँग परिसंघले सहकार्य गर्दै आएको बताए ।

उनले पर्यटन, चिया, कफीलगायतका माध्यमबाट पाकिस्तानसँगको व्यापार घाटा न्यूनीकरण गरिनुपर्नेमा जोड दिए । उनले नेपाल पाकिस्तानबिच सिधा हवाई सम्पर्क पुनः जोड्न सकिए पर्यटन उद्योगका लागि महत्त्वपूर्ण हुने उल्लेख गरे । त्यसका लागि आवश्यक सहयोग एवं समन्वय गर्न समेत उनले राजदूतलाई आग्रह गरे ।

राजदूत हाशमीले नेपाली वस्तुहरू पाकिस्तान निर्यात बढाउन आवश्यक सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले पाकिस्तानमा चियाको राम्रो बजार रहेकाले नेपाली चिया निर्यात गर्न सकिने बताए ।

पाकिस्तानी पर्यटकहरू नेपाल भ्रमण गर्न रुचाउने भन्दै उनले दुई देशबिच डिजिटल भुक्तानी हुने व्यवस्था गर्न सुझाए । छलफलमा परिसंघ पदाधिकारीमा स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी रहेका थिए ।

प्रतिक्रिया