आइतबार, जेठ ६, २०८१

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीको समय थप

नेपालखोज २०८० असार २४ गते १८:०४

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको १५ दिने पुस्तक प्रदर्शनीमा पाठकको भीड बढेपछि भानु जयन्तीसम्मका लागि समय थप गरिएको छ ।

प्रतिष्ठानले ६६औँ वार्षिकोत्सवका अवसरमा असार ८ गतेदेखि आयोजना गरेको प्रदर्शनीको अवधि असार ३० गतेसम्म थप गरिएको व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए ।

प्रदर्शनीमा दैनिक सयौँ पाठक आउने गरेका छन् । दैनिक कम्तीमा पनि २० हजारको पुस्तक बिक्री हुने गरेको छ । प्रतिष्ठानका पाँच सयभन्दा बढी थरीका पुस्तक एवं पत्रपत्रिका प्रदर्शनीमा राखिएको छ । प्रतिष्ठानको प्रकाशनमा १५ देखि ४० प्रतिशतसम्म छुट दिइएको उनले सुनाए ।

प्रज्ञा प्रतिष्ठानसँगै साझा प्रकाशनका पुस्तकहरू पनि प्रदर्शनीमा राखिएको छ । साझा प्रकाशनका पुस्तकमा भने २५ देखि ३० प्रतिशतसम्म छुट दिइएको छ ।

पुस्तक प्रदर्शनीमा आउनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको उनले बताए । प्रतिष्ठानले वर्षमा तीन पटक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पुस्तक प्रदर्शनीबाट वार्षिक ५० लाखको पुस्तक बिक्री हुने गरेको जनाइएको छ ।

प्रतिक्रिया