सोमबार, वैशाख १७, २०८१

५० वर्ष अगाडिको त्यो आगलागी

सुनिल उलक २०८० असार २५ गते ११:२७

वि.सं. २०३० असार २५ गते नेपालको इतिहासमा भयावह आगलागीको घटना घट्यो ।

हुन त नेपालको इतिहासमा सबैभन्दा ठूलो र डरलाग्दो आगलागी १९९० बैशाखमा भएको सेतो दरबार आगलागीलाई लिइन्छ । जोगवीर स्थापितको डिजाइनमा मुगल तथा युरोपेली बास्तुकलाको समिश्रणमा वीरशम्शेरले बनाउन लगाएको यो दरबार जलेर ध्वस्त भएको थियो । त्यो दरबारको भब्यता आज पनि जमल सडकमा खडा रहेको भव्य सेतो गेटले देखाइरहन्छ ।

२०३० को आगलागीमा भने त्यतिबेलाको एउटा प्रमुख प्रशासनिक भवनमा नै आगलागी भएको थियो । यस आगलागीले देशकै कतिपय महत्वपूर्ण परराष्ट्र मन्त्रालयका कागजपत्रहरु जलेर खरानी भयो । सरकारले यस घटनामा मृत्यु भएकाहरुको कुनै जानकारी दिएन । तर १२ जना सैनिक तथा अन्यको मृत्यु भएको भनिन्छ ।

राती दश बजेबाट शुरु भएको यस आगलागीको पछाडी कसैको हात त छैन भन्ने निकै अड्कल काटिए पनि सरकारी छानविन टोलीले बिद्युतको तारमा भएको सानो झिल्कोबाट नै भयानक घटना घटेको भनियो । त्यतिबेला प्रधानमन्त्री रहनु भएका कीर्तिनिधी बिष्टले नैतिकताको आधारमा राजा विरेन्द्र सामु राजिनामा दिए ।

राजाले यो स्विकार्नु भएन तर पनि राजालाई आफू पदमा रहिरहनु नैतिकताले दिदैन भन्दै राजिनामा दिएरै छोडे । त्यतिबेला नेपालका लागी भारतिय राजदुत रहेका एलपी सिंहले बालुवाटारमा पुगेर कीर्तिनिधी बिष्टलाई राजिनामा फिर्ता लिन अनुरोध गरेका थिए ।

आखिर जे नहुनु थियो भयो देशले ठूलो क्षति बेहोर्नुपर्यो । देशले किर्तिनिधी जस्ता नैतिकता भएको नेता वा प्रधानमन्त्री त्यसपछि पाएन ।

प्रतिक्रिया