सोमबार, वैशाख १७, २०८१

लुम्बिनी वाणिज्य क्याम्पस बहुसङ्काय अध्ययनको योजना

नेपालखोज २०८० असार २५ गते ९:१९

लुम्बिनी । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा स्थापित गर्दै बहुक्याम्पसको रुपमा विकास गर्ने योजना अगाडि सारिएको छ ।

क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को तेह्रौँ सभामा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल पाण्डेले उक्त योजना अगाडि बढाइएको जानकारी दिए ।

क्याम्पस सभामा उनले हाल व्यवस्थापन सङ्कायको मात्र पठनपाठन हुँदै आएको र भविष्यमा मानित विश्वविद्यालयका रुपमा स्थापित गर्दै विज्ञान तथा प्रविधि सङ्काय थप गरी बहुसङ्काय क्याम्पसको रुपमा विकास गर्ने योजना अगाडि बढाइएको बताए ।

क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा स्थापित गर्न बुटवल–१२ तामनगरस्थित चारपाला सामुदायिक वनको ३० बिघा जग्गाप्राप्तीको प्रक्रिया अगाडि बढाइएको र जग्गा प्राप्त भएपछि विश्वविद्यालयको लागि आवश्यक संरचना निर्माण गरिने उनले बताए ।

अध्यक्ष पाण्डेले क्याम्पसले हाल त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति प्राप्त गरी पाँच स्वायत्त कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

पाण्डेका अनुसार सेमेष्टर प्रणालीमा आधारित दुई वर्षे व्यवस्थापन विषयमा स्नाकोत्तर र चार वर्षे स्नातक व्यापार व्यवस्थापन र सूचना प्रविधि विषय सञ्चालनका लागि पाठ्यक्रम निर्माण गरी त्रिभुवन विश्वविद्यालयमा पेश गरिसकेको जानकारी दिए ।

बैठकमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले यहाँका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको वातावरण बनाउने लागि पनि लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय र बहुसङ्काय क्याम्पसको रुपमा स्थापित गर्नुपर्ने बताए ।

क्याम्पस प्रमुख प्राध्यापक डा ताराप्रसाद उपाध्यायले सबै सङ्कायमा गरी तीन हजार दुई सय १२ जना विद्यार्थी अध्ययनरत क्याम्पसले हालसम्म २०६८ र २०७५ सालमा गरि दुईपटक विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता एवं प्रत्यायन ९क्युएए० प्राप्त गर्न सफल भएको उल्लेख बताए ।

क्याम्पस प्रमुख उपाध्यायले व्यवस्थापन विषय अध्यापन गराउने लुम्बिनी प्रदेशमा मात्र नभई देशकै उत्कृष्ट क्याम्पस रहेको दाबी गरे ।

उपाध्यायका अनुसार २०७५ सालमा देशभरका सामुदायिक क्याम्पसमध्ये सर्वोत्कृष्ट बनेको लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमै उत्कृष्ट नतिजासहित १९ पटक गोल्डमेडल प्राप्त गरेका छन् ।

प्रतिक्रिया