सोमबार, वैशाख १७, २०८१

हेलिकप्टर दुर्घटनामा परेका पाँचजनाको शव भेटियो

नेपालखोज २०८० असार २६ गते १३:०६

सोलुखुम्बु । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पाँचजनाको शव भेटिएको छ । थप एकजनाको खोजी भइरहेको घटनास्थल पुगेका प्रहरी नायब निरीक्षक नीराजन बस्नेतले जानकारी दिए ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको नाइन एन-एएमभी कलसाइनको हेलिकोप्टर लामजुराडाँडामा आज बिहान ९:५२ मा दुर्घटनाग्रस्त भएको हो ।

हेलिकोप्टर लिखुपिके गाउँपालिका ५, भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको बस्नेतले जनाए । उनीसहित अहिले घटनास्थलमा उद्धारका लागि दुईजना प्रहरी पुगेका छन् । उनले घटनास्थलमा दुई घण्टा पैदल हिँडेर पुगेको र त्यहाँको मौसम अहिले हुस्सु लागेको अवस्था छ ।

दुर्घटनामा मृत्यु भएकाहरुलाई कानुनी प्रक्रिया पूरा गरी काठमाडौं पठाउने तयारी रहेको पनि बस्नेतले जानकारी दिए । उनले यसका लागि काठमाडौंबाट एउटा हेलिकोप्टर घटनास्थलमा आइपुगेको पनि जानकारी दिए ।

क्याप्टेन चेत गुरुङले हेलिकोप्टर उडाएका थिए । लुक्ला विमानस्थलका एटीसी अफिसर सागर कँडेलका अनुसार हेलिकोप्टरमा क्याप्टेनबाहेक ५ जना विदेशी थिए ।

हेलिकोप्टर लामजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर कँडेलको भनाइ छ ।

प्रतिक्रिया