सोमबार, वैशाख १७, २०८१

मौसममा सुधार हुन अझै केही दिन लाग्ने

नेपालखोज २०८० असार २६ गते १४:४८

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहनाका साथै न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि पूर्ण बदली रहनाका साथै सबै प्रदेशका केही स्थानमा हल्कादेखि मद्यम वर्षा भइरहेको छ । कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी केही दिनसम्म बदली र वर्षाको सम्भावना रहेको छ । आज राति कोसी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना छ । मधेस प्रदेशलगायत कोसी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

मौसमविद् मानन्धरका अनुसार पश्चिमी वायुको प्रभाव कायमै रहेको र न्यून चापीय रेखा नेपाल नजिक भएकाले अबका केही दिन वर्षाको सम्भावना छ ।

‘देशभर मनसुनी वायुको प्रभाव रहेको छ, त्यस्तै न्यून चापीय रेखा अहिले देशको पूर्वी भाग नजिक रहेकाले त्यसको अलि बढी असर देखिएको छ, न्यून चापीय रेखा जतातिर नजिक छ त्यहाँ बदली र वर्षा बढी हुन्छ, तुलनात्मक रूपमा पूर्वमा भन्दा पश्चिमतिर न्यून चापीय रेखा दूरी बढी रहेकाले पूर्व क्षेत्रमा बढी वर्षाको सम्भावना देखिन्छ ।’

प्रतिक्रिया