शुक्रबार, जेठ ४, २०८१

डिला खरेलले ल्याए काठमाडौं उपत्यका भित्र ‘अस्ट्रेलिया पार्क’ बनाउने योजना

नेपालखोज २०८० असार ३० गते ११:४३

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए अस्ट्रेलियाको नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका युवा व्यवसायी डिला खरेलले आफूले संघको नेतृत्व हासिल गरेमा काठमाडौं उपत्यका भित्र उपयुक्त स्थानमा ‘अस्ट्रेलिया पार्क’ बनाउने घोषणा गरेका छन् ।

नेपाली युवा, विद्यार्थीहरुको आकर्षक गन्तव्यको रुपमा रहेको अस्ट्रेलियाको बारेमा जानकारी दिने उद्देश्यले काठमाडौं उपत्यकामा स्थानीय तहसँग मिलेर यस्तो पार्क बनाउने योजना खरेलले सार्वजनिक गरेका हुन् ।

रेमिटेन्स र पर्यटनबाट नेपालको अर्थतन्त्र चलिरहेको विषयबारे आफू जानकार रहेको बताउँदै नेपाल सरकारसँग एनआरएनए अस्ट्रेलियाले ‘टाइ-अप’ गरेर काम गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे । नेपाल सरकार, अस्ट्रेलियन दूतावास तथा अन्य मनमिल्ने सङ्घसंस्थाहरूसँगको सहकार्यमा काठमाडौं उपत्यकाभित्र एउटा अस्ट्रेलिया पार्क निर्माण गर्ने र दुई देशबिचको सम्बन्धको स्मारकको रुपमा उक्त पार्कले अस्ट्रेलियाको जनजीवन दर्शाउने उनले बताए।

उनले भने ‘एनआरएनए एनसीसी अस्ट्रेलियाको सन् २०२३–२०२५ अवधिका निम्ति अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। यदि निर्वाचित भएँ भने एनसीसी अस्ट्रेलियाका साथीहरूसँग मिलेर अस्ट्रेलियामा नेपाली विद्यार्थीका लागिः नेपाली विद्यार्थीहरूको पढाइलाई सहयोगी हुने एक हाते पुस्तक प्रकाशन गर्नेछौँ । जसले उहांहरूलाई कामको खोजी तथा अस्ट्रेलियाको जीवनशैली तथा अवसरबारे पनि ज्ञान दिनेछ। रोजगारी, व्यक्तिगत तथा पेशागत विकास जस्ता विषयहरूमा पनि एनसीसी अस्ट्रेलियाले प्रशिक्षण दिनेछ ।’

यसैगरी नेपाली युवाहरूलाई उद्यमशील बन्न मद्दत गर्न ‘युवाका निम्ति एक कोष’ कार्यक्रम ल्याउने र ‘आइडिया ब्याङ्किङ’ को अवधारणा अघि बढाउने योजना पनि उनले सुनाए । उनले भने ‘एनसीसी अस्ट्रेलियाले एक लाख अस्ट्रेलियन डलरको कोष सङ्कलन गर्नेछ। वित्तीय तथा व्यवस्थापन क्षेत्रका अनुभवी व्यक्तित्व हरू सामेल भएको एक टोलीले छानिएका उद्यमीहरूका निम्ति कानुनी, लेखासम्बन्धी तथा अन्य आवश्यक परामर्श दिनेछ। साथै ‘युवाका निम्ति एक कोष’ मार्फत प्रारम्भिक पूँजी सहयोग पनि उपलब्ध गराउने छौं ।’ उम्मेदवार खरेलले अस्ट्रेलियामा आफ्नो परिवार भेट्न आएका अभिभावकहरूको निःशुल्क स्वास्थ्य जाँच सेवा आयोजना गर्ने पनि बताए।

‘नेपाली डाक्टर, खेलाडी, कलाकार तथा अन्य प्रतिभाशाली व्यक्तित्वहरूको ब्रान्डिङ् गरेर उनीहरूलाई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा परिचित गराइनेछ। अस्ट्रेलियामा बसिरहेका नेपालीहरू कानुन मान्ने, कर तिर्ने, इमानदार, लगनशील तथा व्यावसायिक समुदायका सदस्य हुन् भन्ने व्यापक छवि निर्माण गरिनेछ। अस्ट्रेलियामा विभिन्न क्षेत्रमा सफल नेपाली व्यक्तित्वहरूको सूची बनाएर वहाँहरूको प्रतिभा, विज्ञता एवं सञ्जालको उपयोग नेपाल तथा नेपाली समुदायको हितका निम्ति गर्न प्रोत्साहन गर्ने छु ।’ खरेलले भने ।

नागरिकता ऐन कार्यान्वयनमा आए पछि पनि अझैं यसमा समस्या रहेको स्वीकार गर्दै खरेलले नेपाली नागरिकताको निरन्तरताका लागि आफुले थप पहल गर्ने पनि बताए ।

प्रतिक्रिया