शनिबार, जेठ ५, २०८१

ताप्लेजुङमा लाखे नाच

नेपालखोज २०८० असार ३१ गते १०:१२

ताप्लेजुङ । ताप्लेजुङमा शनिवार देखी नेवार समुदायमा प्रचलित लाखे नाच सुरु गरिएको छ ।

गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्वका अवसरमा नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङले सदरमुकाम फुङलिङस्थित भिन्तुना डाँडामा लाखे नाच सुरु गरेको हो ।

फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले लाखे नाचको शुभारम्भ गरेका छन् । नेपाल भाषा तथा सांस्कृतिक समाजले भिन्तुना डाँडामा लाखे नाच शुभारम्भ समारोहको आयोजना गरेको थियो । सांस्कृतिक पर्व गठेमङ्गलका अवसरमा हरेक वर्ष सदरमुकामवासीले लाखे नाच निकाल्दै आएका छन् ।

लाखेको मुखुन्डो पहिरिएर प्रस्तुत गरिने परम्परागत नृत्यलाई नै लाखे नाच भन्ने गरिएको छ । उक्त नाचमा ढोलक, ट्याम्को, मजुरालगायतका बाजा बजाइन्छ । भूतप्रेत नलागोस् र मरेको मान्छेको आत्माले दुःख नदेओस् भनेर यो नाच देखाइने गरेको नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष शङ्कर श्रेष्ठले बताए ।

नेवार समुदायमा तन्त्रमन्त्र र भूतप्रेतबाट बच्न गठेमङ्गललाई विशेष दिनका रूपमा लिने गरिएको छ । यस दिनमा भीमकाय राक्षसको सम्झना गरिन्छ भने उक्त राक्षसको मृत्युपछि भय त्रासबाट मुक्त भएको विश्वास गरिन्छ ।

प्रतिक्रिया