मंगलबार, जेठ १, २०८१

आफ्नै विवाहमा गोली चलाएर बेहुली फरार

नेपालखोज २०८० असार ३१ गते १३:१९

उत्तर प्रदेश । नेपालसँगको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशको प्रहरीले आफ्नै बिहेमा गोली चलाएर फरार भएकी दुलहीको खोजी गरिरहेको जनाएको छ।

सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा दुलाहाको छेउमै बसेकी ती महिलाले हावामा चार राउन्ड गोली चलाएको देखिन्छ।

स्थानीय प्रहरीले घटनापछि फरार ती महिलाविरुद्ध मुद्दा गर्दा गराएको जनाएको छ । कतिपय उत्तरी भारतीय राज्यहरूमा उत्सवहरूमा हर्षबढाइँ गर्न बन्दुक पड्काउने चलन छ । उत्सव मनाउन बन्दुक पड्काउँदा कहिलेकाहीँ मानिसहरू घाइते हुने र मृत्यु हुने सम्मका घटना पनि हुने गरेको पाइन्छ।

भारतको कानुनअनुसार उत्सवहरूमा अरूलाई जोखिम हुनेगरी लापरबाहीपूर्वक वा पर्याप्त सावधानी नअपनाई बन्दुक चलाउने व्यक्तिलाई जेल सजाय, जरिवाना वा दुवै सजाय हुन सक्छ ।

सन् २०१६ मा उत्तर प्रदेशको राजधानी लखनऊको एउटा अदालतले उत्सव मनाउन बन्दुक पड्काइने हरेक गतिविधिको उजुरी दर्ता नभए पनि अनुसन्धान गर्न आदेश दिएको थियो।

‘पक्राउ पर्ने डरले फरार’

भारतीय पत्रिका टाइम्स अफ इन्डियाका अनुसार दुलहीले गोली चलाएको भिडिओ एक आफन्तले खिचेर सामाजिक सञ्जालमा राखेकी थिइन्।

प्रहरीले उक्त पत्रिकासँग आफू पक्राउ पर्ने डरले ती महिला ‘फरार’ भएको हुनसक्ने जनाएको छ।

गत साता पश्चिमी भारतीय राज्य महाराष्ट्रमा आगोको फोहोरा निस्किने ‘स्पार्कल गन’ चलाउँदा उक्त उपकरण आफूतिरै फर्किएर दुलहीको अनुहारमा लागेको भिडिओ भाइरल भएको थियो।

बिहेको उपहारमा बम, बेहुलाको मृत्यु

गत साता नै भारतको छत्तीसगढमा विवाहमा आएको एउटा उपहारमा जडान गरिएको विस्फोटक पदार्थका कारण दुलाहा र उनका भाइको मृत्यु भएको थियो।

विस्फोटमा १८ महिने एक शिशुसहित चार जना घाइते भएका थिए।

शक्तिशाली विस्फोटक पदार्थका कारण घरको पर्खाल र छत समेत भत्किएको थियो।

प्रहरीले उक्त उपहार पठाएको आशङ्कामा बेहुलीका पूर्वप्रेमीलाई पक्राउ गरिएको जनाएको छ।

छिमेकी राज्य मध्यप्रदेशका ती युवा यसअघि नै विवाहित थिए।

उनले दोस्रो श्रीमतीको रूपमा ती महिलालाई विवाह गर्न चाहेको तर महिलाको परिवारले अस्वीकार गरेपछि उनी रिसाएको दाबी गरिएको छ। -BBC

प्रतिक्रिया