शुक्रबार, जेठ ४, २०८१

आज जनकवि केशरी थापाको ९९ औँ जन्मजयन्ती

नेपालखोज २०८० साउन १ गते ७:३३

काठमाडौं । आज जनकवि केशरी धर्मराज थापाको ९९ औँ जन्मजयन्ती । बि.स. १९८१ साउन १ गते कास्कीको बाटुलेचौरमा जन्मेका उनी प्रसिद्ध लोकगायक, कवि तथा प्राज्ञ थिए ।

उनको २०७१ असोज २८ गते निधन भएको थियो । उनले बि.स.२०१३ मा राजा महेन्द्रबाट ‘जनकवि केशरी’ उपाधि पाएका थिए ।

उनको हरियो डाँडामाथि हलो जोत्ने साथी, आज मादल बजेको किन, धुरुधुरु नरोऊ आमा, शिरीमा शिरी लगायतका दर्जनौ लोक कृति प्रख्यात छ।

जनकवि केशरी थापाको जन्मजयन्तीको अवसरमा सुनील उलक लेख्छन्,

आज साउन संक्रान्ती – जनकवि केशरी धर्मराज थापाको जन्म जयन्ती । उहाँप्रति श्रद्धा सुमन ।

बाल्यकालको सम्झना – धर्मराज थापा, मेरो बुबालाई भेट्न घरमा समय समयमा आउने गर्नुहुन्थ्यो । यही क्रममा कुनै बेला यो गीत, “हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा”को चक्का ८-१० वटा ल्याएर छोड्नुभयो । घरमा दम हाल्नुपर्ने ग्रामोफोन थियो । पुरानो गाडी स्टार्ट गर्ने झैँ दम लगाए पछि बल्ल चक्का घुम्थ्यो । घरमा ग्रामोफोनको चक्काहरू अरू पनि थुप्रै थिए । हामीलाई ती चक्काबाट निस्कने गीत भन्दा हामीले ती आवाजलाई बिगारेर सुन्दा आनन्द लाग्थ्यो । चक्काबाट आवाज निकाल्ने सानो सियो हुन्थ्यो । हामी उचालेर कहिले अगाडि कहिले पछाडि गर्थ्यो । घुमिराखेको चक्कालाई औलाले अलि थिचेर गीतलाई ढिलो बजाउने गर्थ्यौ । जसले गर्दा घोक्रो आवाज आउँथ्यो । कहिले अझै दम थपेर छिटो छिटो बजाउँथ्यौँ र अनौठो आवाज सुनेर आनन्दित हुन्थ्यौ । चक्का (डिस्क)को बिचमा ग्रामोफोन सुनेर बसेको कुकुरको फोटो हुन्थ्यो, हिज मास्टर्स भ्वाइस (HMV) को लोगो, त्यो कुकुर फनफनी घुमेको देखेर दङ्ग पर्थ्यौ । धर्मराज बुबाको जन्म जयन्तीमा यो बाल्यकालका कुराहरूको सम्झना आयो ।

प्रतिक्रिया