आइतबार, वैशाख १६, २०८१

टीकापुरमा उद्योग तथा होटलको जग्गा छुट्टै प्रयोजनका लागि प्रयोग

नेपालखोज २०८० साउन ३ गते ९:३३

टीकापुर । तत्कालीन टीकापुर विकास समितिले सहुलियत दरमा उद्योग, होटल तथा व्यवसाय सञ्चालनका लागि उपलब्ध गराएका अधिकांश जग्गा अर्कै प्रयोजनमा प्रयोग गरिएका छन् । टीकापुर विकास समितिले टीकापुरको गुरुयोजना अनुसार औद्योगिक क्षेत्र विस्तार, होटल तथा वर्कसप सञ्चालनका लागि उपलब्ध गराएका जग्गामा तोकिएकै व्यवसाय गर्ने न्यून पाइएका छन् ।

जग्गा अर्कै प्रयोजनमा प्रयोग भएपछि नगर विकास समितिले गत वर्ष जग्गाको अवस्थाको अध्ययनका लागि टीकापुर नगरपालिका कार्यपालिका सदस्य तथा विकास समितिका बोर्ड सदस्य दीपक निसानीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो । समितिले करिब एक वर्षको अध्ययनपछि सार्वर्जनिक गरेको विवरणमा जग्गा तोकिएको प्रयोजनमा निकै कम प्रयोग भएको पाइएको छ ।

उद्योग तथा होटल सञ्चालनका लागि सहुलियत दरमा उपलब्ध गराएका अधिकांश जग्गा कित्ताकाट गरिएको, फरक व्यवसाय सञ्चालन गरिएको र आवासका लागि घर निर्माण भएको पाइएको छ । हाल उद्योगका नाममा लिइएका एक सय २७ कित्तामा १४ कित्तामा उद्योग सञ्चालनमा रहेका छन् भने २१ कित्ताकाट भएका तथा ३९ कित्तामा घर बनाइ आवासका रुपमा प्रयोग भएको पाइएको छ ।

नगर विकास समितिको विवरण अनुसार उद्योगका नाममा लिइएका एक सय २७ कित्तामा ५३ कित्ता हाल खाली छन् । विकास समितिले २०५४ सालमा ४६ बिघा १५ कठ्ठा ६ धुर जग्गा उद्योग सञ्चालनका लागि वितरण गरेको थियो । यसमा प्लटको क्षेत्रफल २८ बिघा १७ धुर रहेको छ भने त्यसभित्र बाटो र चोक चौराह १७ बिघा १२ कठ्ठा नौ धुर रहेको सहायक सव इञ्जीनियर नेत्रप्रसाद रावलले जानकारी दिए ।

विसं २०५४ कात्तिक ११ गते तत्कालीन अध्यक्ष नैनबहादुर स्वाँरको अध्यक्षतामा बसेको बोर्ड बैठकले उद्योग सञ्चालनका लागि प्रतिकठ्ठा न्यूनतम रु २० हजारका दरले उद्योग सञ्चालनका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । साथै सोही वर्षको माघ १३ गतेको अर्को बोर्ड बैठकले जग्गा लिएको पाँच वर्षसम्म उद्योग सञ्चालन नगरे जग्गा विकास समितिले फिर्ता लिने निर्णयसमेत गरेको थियो ।

त्यसैगरी होटल सञ्चालनका लागि लिइएका १३ कित्तामा अधिकाँश जग्गामा होटल नभएको, अन्य व्यवसाय सुरु गरिएका, तीन कित्ता खाली रहेका, पाँच जनाले कित्ताकाट गरेका, एउटा विद्यालय सञ्चालन भएको, दुई वर्कसप सञ्चालन तथा एउटा ठाउँमा बिरुवा रोपेको पाइएको छ । विकास समितिले चार जनालाई वर्कसप सञ्चालनका लागि समेत जग्गा वितरण गरेको थियो । वर्कसपका लागि लिएका जग्गामासमेत घर बनेका, होटल खुलेका तथा अन्य कार्यका लागि जग्गा प्रयोग भएको पाइएको छ ।

समितिले होटलका नाममा ढाई कठ्ठादेखि ५ कठ्ठासम्म जग्गा दिएको, वर्कसपलाई तीन कठ्ठा पाँच धुरका जग्गा उपलब्ध गराइएको पाइएको विकास समितिका बोर्ड सदस्य दीपक निसानीले बताए। ‘यसरी जग्गा लिएका अधिकांशले अर्कै प्रयोजनमा प्रयोग गरेको पाइएको छ’, उनी भन्छन, ‘औद्योगिक क्षेत्र बस्ती बनेको छ । होटल तथा वर्कसपका नाममा लिइएका जग्गा अर्कै काममा तथा घर निर्माण भएका छन् ।’

त्यसैगरी विकास समितिले मन्दिर निर्माणका लागि समेत जग्गा उपलब्ध गराएको थियो । मन्दिरका लागि उपलब्ध गराएको जग्गामा प्रायः सबै ठाउँमा मन्दिर निर्माण भएका, कतिपय सार्वजनिक स्थानमा टोल तथा स्थानीय समुदायले आफैँ मन्दिर निर्माण गरेका, कतिपय सार्वजनिक स्थानमा मन्दिरका नाममा जग्गा अतिक्रमण भएको पाइएको छ । मन्दिरका नाममा करिब दुई बिघा जग्गा अतिक्रमण भएको उपसमितिका संयोजक निसानीले जानकारी दिए ।

टीकापुरमा करिब एक कठ्ठादेखि दुई बिघासम्मका ६० वटा ओपन स्पेश रहेका छन् । टीकापुर नगरपालिकाका प्रमुख तथा नगर विकास समितिका अध्यक्ष रामलाल डगौरा थारुले नगरवासीलाई जानकारी दिन कानुनी प्रक्रिया अघि बढाउन पहिलो चरणमा जग्गाको अवस्था अध्ययन गरिएको बताए । ‘जग्गा लिएकाहरुले गुरुयोजना अनुसार काम गरेको पाइएन, उद्योगका नाममा सहुलियत दरमा जग्गा लिएर अर्कै व्यवसाय गरेका र कित्ताकाट गरेर गुरुयोजना बिगार्ने काम भएको पाइएको छ’, उनले भने ।

समितिसँग जुन प्रयोजनका लागि जग्गा लिइएको हो सो प्रयोजनमा प्रयोग नभएकाले अब कानुन अनुसार अघि बढ्ने डगौरा थारुले बताए । ‘उद्देश्य अनुसार जग्गा प्रयोग भएको देखिदैन’, उनले भने, ‘जग्गा लिएर अर्कै प्रयोजनमा प्रयोग गर्दा टीकापुरको गुरुयोजना बिग्रिएको छ । हामीले पहिलो चरणमा जग्गाको अवस्था पत्ता लगाएका हौँ, अब बोर्ड बैठक तथा राजनीतिक दलसँग सर्वदलीय बैठक गरेर अघि बढ्छौँ ।’

प्रतिक्रिया