सोमबार, वैशाख १७, २०८१

ग्रामीण सडकमा हेरालु परिचालन

नेपालखोज २०८० साउन ४ गते १०:१९

गोरखा । गोरखाको आरुघाट गाउँपालिकाले बर्खायामको समयमा पालिकाभित्रका मुख्य–मुख्य ग्रामीण सडक मर्मतसम्हारका साथै सडक सञ्चालन राख्न सडक हेरालु परिचालन गरेको छ ।

गाउँपालिकाले पालिकाभित्र १५ सडक हेरालु नियुक्त गरी परिचालन गरेको छ । गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार छनोटमा परेका सडक हेरालुलाई तालिमसमेत प्रदान गरिएको छ ।

बर्खामा सडकमा बग्ने भल तथा स–साना पहिरा समयमा नै हटाउन तथा सडक सरसफाइ गर्न सडक हेरालु नियुक्त गरी परिचालन गरेको उनको भनाइ छ ।

सडक हेरालुमार्फत भल तथा पहिरा व्यवस्थापन गरी मुख्य–मुख्य ग्रामीण सडक तत्काल मर्मतसम्भार गर्नसके निर्माण भइसकेका सडकमा क्षति न्यून गर्न सकिने अध्यक्ष गुरुङले बताए ।

नियुक्त भएका सडक हेरालुले गाउँपालिका, वडा. कार्यालय र वडाको प्राविधिकको निगरानी तथा निर्देशनमा वडाभित्रमा मुख्य–मुख्य सडकमा नियमित यातायात सञ्चालन गर्ने गरी काम गर्ने छन् ।

नाला सरसफाइ गर्ने, खाल्डाखुल्डी पुर्ने, भल कटाउने, सडकमा पानी बग्न नदिने, झाँडी तथा झारपात हटाउने, सडक अतिक्रमणबाट जोगाउनेलगायत काम गर्नेछन् । सानातिना भल पानी र पहिराले भत्काएका सडक समयमा मर्मत गर्न नसक्दा सडकमा धेरै क्षति हुने गरेको छ । यसबाट लामो समयसम्म सडक अवरुद्ध हुन्छ ।

‘सडक हेरालुलाई सडक मर्मतसम्भारमा प्रयोग हुने सामग्री गाडा, बेल्चा, गैँची, कोदाली, घन, जावेल, कराइ, टेपलगायतका आवश्यक सामग्री गाउँपालिकाले उपलब्ध गराएको छ’, अध्यक्ष गुरुङले भने ।

प्रतिक्रिया