आइतबार, वैशाख १६, २०८१

देखिन छाडे ‘फोटो स्टुडियो’

नेपालखोज २०८० साउन ६ गते ७:५३

समयअनुसार मानिसका रहर र बानी परिवर्तन हुन्छन् । समयले रहरलाई पूरा गर्ने तरिका पनि बदलिदिन्छ । विगतमा मानिस ‘स्टुडियो’मा गएर फोटो खिच्न निकै रुचाउँथे । यसका लागि गाउँघरदेखि टाढा सहरमा रहेका स्टुडियोमा जाने, खिचेका फोटा ठूला बनाएर भित्तामा तथा एल्बमा सजाउने गर्थे । आजभोलि प्रविधिको विकाससँगै फोटोप्रतिको मोह पनि बदलिएको छ ।

टीकापुरकी सिर्जना पण्डित चाडपर्व तथा घरमा केही उत्सव हुँदा सम्झनाका लागि स्टुडियोमा गएर फोटो खिचाउथिन् तर अचेल समयले उनलाई बदलेको छ । उनले फोटो स्टुडियो नदेखेको एक दशक पुग्यो । ‘मोबाइल तथा घरमै क्यामरा भित्रिएपछि फोटो खिच्न स्टुडियो जानु परेन’, उनले भने, ‘आजभोलि फोटो प्रिन्ट गरेर राख्ने चलन पनि हरायो । पुराना फोटो छन् कहिलेकाहीँ हेरिन्छ, रमाइलो लाग्छ ।’

अर्की महिला टीका चन्दको अनुभव पनि यस्तै छ । पहिला स्टुडियोमा फोटो खिच्न जाँदा रकमको जोहो गर्ने, पहिल्यै पूर्वतयारी गर्ने गरेकी टीका पनि आजभोलि स्टुडियो जान्न। ‘पहिलाको फोटोको महत्व छुट्टै हुन्थ्यो । साथीहरुसँग सल्लाह गरेर नयाँ लुगा किनेका बेला, विद्यालयका कार्यक्रममा, कतै पिकनिक जाँदा खिचिन्थ्यो’, उनले भने, ‘त्यो बेलाका फोटोको महत्व छुट्टै थियो । अहिलेका फोटोको महत्व छैन । सामाजिक सञ्जालमा राख्नका लागि मात्र खिचिन्छ ।’

टीकाले समय समयमा पूराना फोटोका एल्बम छन् हेर्नुहुन्छ, यसरी हेर्दा रमाइलो लाग्ने उनको भनाइ छ । कैलालीकै नीता खड्का भण्डारी पनि विगतमा खुबै रहर गरेर स्टुडियोमा फोटो खिच्न हुन्न् ।

आजभोलि उनी पासपोर्ट साइजका फोटाका लागि मात्र स्टुडियो गएकी छैन् । ‘त्यो बेला फोटो खिच्न जाने भनेपछि धेरै रमाइलो लाग्थ्यो’, उनले भनिन्, ‘स्टुडियोमा पालो कुरेर, लाइनमा बसेर फोटो खिचेको अझै याद छ ।’

प्रतिक्रिया