शनिबार, वैशाख २२, २०८१

सुदूरपश्चिममा गत आवमा दुई सय ४९ सवारी साधन दुर्घटना

नेपालखोज २०८० साउन ७ गते १४:५७

बैतडी । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा दुई सय ४९ सवारी साधन दुर्घटनामा परेका थिए । आव २०७८/७९ भन्दा आव २०७९/८० मा आधाभन्दा कम दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा यहाँ पाँच सय एक सवारी साधन दुर्घटनामा परेकामा गत आवमा घटेर दुई सय ४९ पुगेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा नायव प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । यस्तै आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ५८ सवारी साधन दुर्घटनामा परेका थिए ।

सवारी दुर्घटना कमी भएसँगै अङ्गभङ्ग र मृत्यु हुनेको सङ्ख्या पनि घटेको छ । आव २०७९/८० मा यहाँ दुईसय ४९ सवारी साधन दुर्घटनामा परेर एक सय ७७ जनाको मृत्यु भएको र चार सयजना ६३ घाइते भएका थिए ।

आव २०७८/७९ मा पाँच सय एक सवारी साधनको दुर्घटनामा एक सय ९६ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ५८ सवारी साधनको दुर्घटनामा एकसय ८६ जनाको मृत्यु भएको र सयौंँ अङ्गभङ्ग भएका थिए । ट्राफिक प्रहरीको सक्रियताले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रहरी नायब उपरीक्षक गिरीको जिकिर थियो । उनले भने,’ट्राफिक प्रहरी सडकमा बढी खटिएकोले सवारी दुर्घटनामा कमी आएको हो । हामीले गरेको जनचेतनामूलक कार्यक्रम पनि फलदायी भएको छ । ‘

गत आवमा प्रदेशभरी चार हजार ६३ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका थिए । जुन अघिल्लो वर्षको तुलनामा तीन हजारले बढी रहेको छ । अघिल्लो आवमा एक हजार मात्रै जनचेतनामूलक कार्यक्रम गरिएको थियो । प्रहरी नायब उपरीक्षक गिरीले भने,’हामीले दुर्घटना न्यूनीकरणकै लागि भनेर एक वर्षमा चारहजार बढी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्यौँ, त्यसले पनि दुर्घटना कम भएको हामीले महसुस गरेका छाैँ ।’ सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम बस दुर्घटनामा परेका थिए ।

सवारी साधनको दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के चेकजाँच, टाइम कार्डदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास गरिरहेको उनकोे भनाइ थियो । दुर्घटना न्यूनीकरणका लागि विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम र यातायात व्यवसायी र चालकलाई समेत बेलाबेलामा सचेत गराउने कार्य पनि प्रहरीले गरेको छ ।

प्रहरी नायब उपरीक्षक गिरीले भने,’नियमित जाँचसँगै जनचेतनामूलक सन्देश पनि दिँदै आएका छौँ, प्रदेशभरी विभिन्न सडकखण्डमा सचेतनामूलक होडिङ बोर्ड राखेका छौँं, चालकसँग एक मिनेट कार्यक्रम पनि सञ्चालनमा छ ।’

दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको पालना नगर्नु, सवारी साधानको चाप बढ्दै जानु, यात्रु र चालकको दुवैको लापरबाही बढनु र सडकको अवस्थालगायत कारण रहेका छन् । दुर्घटना न्यूनीकरणका लागि सडक पूर्वाधार सुधारको खाँचो रहेको उहाँले बताए ।

कारबाहीबाट साँढे ६ करोड सङ्कलन

सुदूरपश्चिम प्रदेशमा एक वर्षमा सवारी साधनका चालकलाई गरिएको कारबाहीबाट करिव साँढे छ करोड राजस्व सङ्कलन भएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख गिरीका अनुसार आर्थिक वर्ष २०७९/८० मा सवारी साधनका चालकलाई गरिएको कारबाहीबाट छ करोड ४२ लाख १२ हजार राजस्व सङ्कलन भएको हो ।

सो रकम आर्थिक वर्ष २०७८/७९ भन्दा एक करोडले बढी हो । उक्त आर्थिक वर्ष पाँच करोड ४१ लाख ९४ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रदेशमा गत आवमा १५ हजार नौ सय ६० नयाँ सवारीसाधन दर्ता समेत भएका थिए ।  सवारीसाधन थपिँदै गए पनि ट्राफिक प्रहरीको उपस्थिति बढी हुनाले राजस्व सङ्कलन बढेको जनाइएको छ ।  

सुदूरपश्चिममा एकसय ८८ जनाको दरबन्दी रहेकामा हाल दुई सय ६३ ट्राफिक प्रहरी कार्यरत छन् । प्रदेशभरिका नौ जिल्लामा गरेर ५५ वटा ट्राफिक इकाई छन् ।

यस प्रदेशको कैलाली, कञ्चनपुर र डोटीमा चालु आर्थिक वर्षदेखि ट्राफिक भोइलेन्स रेकर्ड सिस्टम (टिभीआरएस) प्रणाली लागू गरिएको छ । सवारी नियम उल्लङ्घनका कसुरको जरिवानाबापत रकम बैंकिङ प्रणालीबाट भुक्तानी गर्न यो प्रणाली लागू गरिएको प्रमुख गिरीको भनाइ थियो ।

उक्त प्रणालीका आधारमा कारबाही कारबाही हुनाका साथै सवारी नियम उल्लङ्घनको विवरण, सवारी चालक अनुमतिपत्र नवीकरणको विवरण, कारबाहीमा परेको विवरण देशभरबाटै हेर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया