शनिबार, वैशाख २२, २०८१

जिल्ला शिक्षा समन्वय इकाइ प्रमुखबाट सरकारी गाडीको दुरुपयोग

नेपालखोज २०८० साउन ७ गते १५:१२

रुपन्देही । रुपन्देही जिल्ला शिक्षा समन्वय इकाइको सरकारी गाडी शनिबार दुरूपयोग गरेको भेटिएको छ। शिक्षा समन्वय इकाइका प्रमुख दिपेन्द्र ढकालले सार्वजनिक बिदाकाे दिन सरकारी गाडीको दुरुपयोग गरेका हुन्।

ढकालले शनिबार पनि जिल्ला प्रशासन कार्यालयको अनुमतिबिना सरकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको भेटिएको छ। शनिबार बिहान बुटवलबाट केवलकार चढेर वसन्तपुर घुमेका ढकाल दिउँसो पाल्पाको नुवाकोटमा पुगेर दारु पार्टीमा सहभागी भएका थिए । घुमफिरमा ढकालले बा२झ १०१० नम्बरको सरकारी गाडी प्रयोग गरेका थिए ।

आफ्ना केही साथीहरु तथा निजी विद्यालयका सञ्चालकलाई बोकेर नुवाकोट पुगेका उनले स्कुलको अनुगमनमा निस्किएको र खाजा खानका लागि नुवाकोट पुगेको प्रतिक्रिया दिए।

शनिबारको दिन बुटवलका केही निजी विद्यालय निरीक्षण गरेको बताउने ढकाललाई यसअघि पनि पटक–पटक सरकारी गाडीको दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कुनै पनि सरकारी गाडी शनिबार वा सार्वजनिक बिदाको दिन प्रयोग गर्नुपरेमा अनुमति जारी गर्नुपर्ने हुन्छ। तर साउन ६ गते शनिबारका लागि कुनै पनि पास वा अनुमति जारी नगरिएको स्पष्ट पारे ।

ढकाल अघिल्लो शनिबार बिनापास नै बुटवल सुक्खानगरमा निजी कन्सल्टेन्सी उद्घाटन कार्यक्रममा सरकारी गाडीसहित पुगेका थिए । रुपन्देही जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

विद्यालय अनुगमनको बहानामा प्रशासनको पासबिना गाडीमा सवार भएको अवस्थामा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले बताए । उनले नियन्त्रणमा लिएको गाडी जिल्ला प्रशासनमा बुझाइदिने र सरकारी दुरुपयोगको अभियोगमा प्रशासनबाटै कारबाही हुने जानकारी दिए । -INS

प्रतिक्रिया