आइतबार, वैशाख २३, २०८१

डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि द्रुत प्रतिकार्य समिति

नेपालखोज २०८० साउन ८ गते १४:२९

भक्तपुर । चाँगुनारायण नगरपालिकाले डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि डेङ्गु रोग खोज तथा नष्ट अभियान सुरु गरेको छ । नगरपालिकाले रोगको खोज तथा नष्टका लागि वडावडामा द्र्त प्रतिकार्य टोली गठन गरी अभियान थालेको हो ।

रोगको महामारी फैलिनु अगाडि नै यसको नियन्त्रणका लागि नगरपालिकाले स्वास्थ्य शाखामार्फत डेङ्गु रोकथाम तथा नियन्त्रणसम्बन्धी अभियान थालेको नगर प्रमुख जीवन खत्रीले बताए ।

नगर प्रमुख खत्रीले नगरपालिकाले तयार गरेको मनसुन पूर्व तयारी योजना अनुरुप डेङ्गु रोकथाम र नियन्त्रणका लागि समुदायस्तरमा विभिन्न गतिविधिसहितको अभियान सुरु भएको बताए ।

आफ्नो नगरक्षेत्रमा डेङ्गु रोग फैलिन नदिन समयमै सचेतना अपनाउँदै नगरस्तरीय द्र्त प्रतिकार्य टोली गठन भई वडास्तरीय विपद् व्यवस्थापन समितिमार्फत प्रतिकार्य टोली गठन गरी डेङ्गु रोकथाम तथा नियन्त्रणका गतिविधि सञ्चालन गर्न प्रत्येक वडा कार्यालयलाई निर्देशनसमेत दिइएको उनले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले नगरपालिका अन्तर्गतका कार्यालय, विद्यालय, सामुदायिक भवनबाट डेङ्गु रोग रोकथाम तथा नियन्त्रणको मुख्य तरिका खोज तथा नष्ट अभियान सुरु गरेको बताए । उनले सबै समुदायमा रोगसम्बन्धी जनचेतना फैलाइ समुदायको सहभागितामा रोकथाम र नियन्त्रणका उपाय अवलम्बन गरिने बताए ।

उहाँले विद्यालयस्तर एवं समुदायस्तरमा पूर्व तयारीका गतिविधि सञ्चालनका लागि शाखागत आवश्यक समन्वय गरी द्रुतरुपमा डेङ्गु नियन्त्रण कार्य अगाडि बढाउने अभियान थालेको बताए ।

स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले डेङ्गु रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले द्रुत प्रतिकार्य टोली गठन गरी नगरस्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको बताए ।

नगरपालिकाले डेङ्गु रोकथाम र नियन्त्रणका लागि तयार गरेको योजना अनुरुप वडास्तरमा अभिमुखीकरण, द्रुत प्रतिकार्य समितिको गठन, स्थानीय रेडक्रसलगायत महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सङ्घ संस्था एवं विद्यालयको सहभागिता रहने छ ।

सोअनुसा घरधुरी सर्वेक्षण गरी घर–घरमा पर्चा वितरण र नगर क्षेत्रमा माइकिङ गर्ने, सबै वडामा डेङ्गु नियन्त्रण, रोकथाम गर्न खोज र नष्ट अभियान सञ्चालन गर्ने, सबै स्वास्थ्य संस्थालाई डेङ्गुको सम्भावित जाँचका लागि तयारी अवस्थामा राख्ने जस्ता कार्य सुरु गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया