आइतबार, वैशाख २३, २०८१

डब्लुएफपीको नक्कली कार्यालय खडा गरेर ठगी, टेण्डर खोलेर पैसा नदिएपछि समातियो गिरोह

नेपालखोज २०८० साउन ८ गते १७:१६

काठमाडौं । ठगीमा संलग्न एउटा गिरोहले बूढानीलकण्ठमा संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रमको नक्कली कार्यालय खडा गरेको भेटिएको छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ मा विष्णुबहादुर गुरुङको दुई तले पक्की भवन भाडामा लिएर कार्यालय खोलेको जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, महाराजगञ्जले गरेको अनुसन्धानबाट देखिएको हो ।

घर धनी विश्वबहादुर गुरुङले पनि प्रति महिना १ लाख ८० हजार रुपैयाँका दरले भाडा दिने भन्दै ठगी गरेको व्यहोरासहित प्रहरीसमक्ष जाहेरी दिएका छन् । बोलपत्र पत्रिकामा पढेर दरखास्त दिएर डेस्कटप कम्युटर, ल्यापटप लगायतका सामानहरु दिँदा हरिप्रसाद अर्याल पनि ठगिएका छन् । उनको ४८ लाख रुपैयाँ बराबरको बोलपत्र स्वीकृत भएको पत्र नक्कली कार्यालयको लेटर प्याडमा दिइएको थियो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर नगरपालिका बस्ने ४७ वर्षीय घनश्याम कटवाल र मकवानपुरको बागमती गाउँपालिका–९ घर भई बूढानीलकण्ठ–५ बस्ने ४० वर्षीय दिनेश भनिने लीलाबहादुर घलान छन् ।

यसमा संलग्न मकवानपुरको भीम भोलन, मिलन तामाङ, पेम्बा तामाङ लगायत फरार छन् । प्रहरीका अनुसार, उनीहरुको साथबाट राष्ट्रिय झण्डा, डब्लूएफपीको लेटर प्याड लगायतका सामग्री पनि बरामद भएको छ ।

प्रतिक्रिया