आइतबार, वैशाख १६, २०८१

सुन काण्ड : राजस्व अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग

नेपालखोज २०८० साउन ८ गते २१:५६

काठमाडौं । राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा पाँच दिनपछि नेपाल प्रहरीको सहयोग मागेको छ । प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले विभागबाट माग भइआएकाले हाल प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीलाई अनुसन्धानमा सहयोग गर्नका लागि पठाइएको जानकारी दिए ।

यसअघि विभागले आफ्नै अनुसन्धान टोली खटाएर सुन बरामद गरेको थियो भने अनुसन्धानको काम अघि बढाएको थियो । विभागले अहिलेसम्म १६ जना आरोपीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेकामा भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ, भन्सार एजेन्टहरू सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली रहेका छन् ।

यस्तै कार्गाे कम्पनीका सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट, ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, सुन ल्याउने कम्पनी रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।

उनीहरूमाथि म्याद थप गरेर विभागले अनुसन्धान गरिरहेको छ । सुन कति बरामद भयो भनेर अहिले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले यकिन गर्न काम गरिरहेको छ ।

प्रतिक्रिया