बिहीबार, जेठ ३, २०८१

धूमपानविरुद्धको अभियानमा मात्र चार राष्ट्रको साथ : डब्ल्यूएचओ

नेपालखोज २०८० साउन १५ गते २१:०४

जेनेभा । विश्व स्वास्थ्य सङ्गठनले धूमपानविरुद्धको अभियानमा केवल चार देश – ब्राजिल, मरिसस, नेदरल्याण्डस् र टर्कीले साथ दिएको बताएको छ । धूमपानले निम्त्याउने अकल्पनीय क्षतिविरुद्धको लडाइँमा सिफारिस गरिएका सुर्ती विरोधी सबै उपाय ती देशले अपनाएका उक्त संस्थाले सोमबार बताएको छ ।

पछिल्लो एक प्रतिवेदनअनुसार डब्ल्यूएचओले आफ्ना सदस्य सबै राष्ट्रलाई सुर्तीजन्य पदार्थको प्रयोग कम गर्न,सूर्ति र सुर्तीजन्य उत्पादनको विज्ञापनमा प्रतिबन्ध लागू गर्र्न, चुरोटका बट्टामा स्वास्थ्य चेतावनी जारी गर्न, सुर्तीजन्य कर बढाउने र यो घातक अम्मल छोड्न चाहनेहरूलाई सहयोग गर्न सुझाएकामा त्यसको ब्राजिल र टर्कीले पालना गरेकामा अब मरिसस र नेदरल्यान्ड्स त्यसमा थपिएका छन् । चारवटै देशले डब्ल्यूएचओका सुर्तीविरोधी सबै सिफारिस कार्यान्वयन गरेको छ ।

डब्ल्यूएचओले पाँच अर्ब ६० करोड मानिस अब कम्तिमा सुर्ती नियन्त्रणको एउटा उपायद्वारा सुरक्षित भएको बताएको छ भने सन् २००७ मा अभिलेख गरिएको २२।८ प्रतिशत धूमपानको दर २०२१ मा १७।० प्रतिशतमा झरेको बताएको छ । यो कमी नभएको भए अहिले ३० करोड थप गर्नेहरू हुने थिए ।

‘बिस्तारै तर धेरै मानिस सुर्तीजन्य पदार्थको हानिबाट जोगिएका छन्,’ डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भनेका छन् । डब्ल्यूएचओ सुर्तीजन्य पदार्थको प्रकोपबाट जोगाउने राष्ट्रिय प्रयासमा सघाउन तत्पर रहेको पनि उनले उल्लेख गरेका छन् ।

सतासी लाख वार्षिक मृत्यु

धूमपान रोकथाम गर्न सकिने मृत्युको प्रमुख कारण बनेको छ । धूमपानका कारण प्रत्येक वर्ष ८७ लाख मानिसको मृत्यु हुने गरेको छ भने अर्काले उडाएको धुँवामा सास फेर्दा १३ लाख जनाले ज्यान गुमाउने गरेका छन् ।

डब्ल्यूएचओका अनुसार इथियोपिया, इरान, आयरल्याण्ड, जोर्डन, मदगास्कर, मेक्सिको, न्यूजील्याण्ड र स्पेनसहितका आठ देश सुर्ती नियन्त्रणमा सामेल हुन एक कदम पछि छन् । चवालीस देशका दुई अर्ब ३० करोड मानिस डब्लूएचओको तमाखु विरोधी उपायको परिपालनाबाट विमुख छन् । विश्वका ५३ देशका स्वास्थ्य सेवा प्रदायक केन्द्रमा नै धूमपान निषेध छैन ।

डब्ल्यूएचओको प्रतिवेदनले विद्युतीय अर्थात् ई–सिगरेटको धेरै कम नियमनको व्यवस्था गरिएकामा त्यसको निन्दा गरेको छ । विश्वव्यापी रूपमा, एक सय २१ देशले ई–सिगरेटलाई सम्बोधन गर्ने केही उपाय अपनाएका छन् ।

विश्वव्यापी जनसङ्ख्याको लगभग एक तिहाइ बसोबास गर्ने ७४ देशमा सुर्तीजन्य उत्पादनहरूलाई सम्बोधन गर्ने कुनै नियम छैनन् भने ती मुलुकका सार्वजनिक स्थानमा धूमपानमा प्रतिबन्ध छैन । चुरोटका बट्टामा स्वास्थ्य चेतावनी राखिएको हुँदैन भने निर्वाध विज्ञानपन पनि हुने गरेको छ ।

अझ अचम्मको कुरा के छ भने अति कम देशमा बालबालिकाको सुरक्षालाई ध्यान दिइएको छ । विश्वका ८८ देशका दुई अर्ब ३० करोड मान्छेलाई ई– सिगरेट किन्नका लागि न्यूनतम उमेर तोकिएको छैन ।

प्रतिक्रिया