शनिबार, जेठ ५, २०८१

चीनमा ‘डीप फेक टेक्नोलोजी’ बाट बढ्दो ठगी

नेपालखोज २०८० साउन २७ गते १५:२६

वाशिङ्टन । चीनमा अहिले आर्टिफिशियल इन्टेलिजेन्स (एआई) को लहर देखिएको छ । संसारभरीका मानिसले यसको फाइदाका साथै हानिका बारेमा समेत बुझ्न थालेका छन् ।

यद्यपि, चीनमा यसको गलत प्रयोगको थालनी भैरहेको दावी गरिएको छ । चिनियाँ प्रहरीले एउटा विशेष अभियानको माध्यमबाट ५१५ जना मानिसलाई पक्राउ गरेको छ । ती मानिसले ‘डीप फेक फेस स्व्यापिङ टेक्नोलोजी’ को प्रयोग गर्थे ।

चीनको पब्लिक सेक्यूरिटी मन्त्रालयसंग सम्बन्धित अधिकारीहरुले बुधवार यस बारेमा जानकारी दिएका हुन् । मन्त्रालयका साइबर सुरक्षा ब्यूरोका एक वरिष्ठ अधिकारी सन जिनफेङले एउटा पत्रकार सम्मेलनमा यस प्रकारको अभियानमा कुल ७९ केस समाधान गरिएको बताएका छन् ।

सन भन्छन् – ‘प्रहरी च्याटजीपीटी, ब्लाउड कम्प्यूटिङ, ब्लकचेन र डीप फेक जस्ता टेक्नोलोजीको दुरुप्रयोग गरेर नागरिकको व्यक्तिगत जानकारी उल्लंघनमा कडा निगरानी राखिएको छ ।’

सनले यस प्रकारको अवैध गतिविधिलाई रोक्नका लागि अपराधीहरुविरुद्ध कडा कदम चालिने वचन दिएका छन् । उनी भन्छन् – ‘२०२० मा मन्त्रालयले व्यक्तिगत सूचना उल्लंघनमा ध्यान दिनुको साथै हरेक वर्ष विशेष स्वच्छ साइबर स्पेस अभियान थालिएको छ ।’

६४ हजार आंशकित पक्राउ

पछिल्लो तीन वर्षमा प्रहरीले ३६ हजार त्यस्ता घटना सुल्झाएको छ । ६४ हजार आंशकित व्यक्तिलाई पक्राउ गरेको छ । सन भन्छन् – ‘३० करोडभन्दा बढी इन्टरनेट अकाउन्ट अवैध गतिविधिमा संलग्न भेटिएको छ ।’

योभन्दा पहिला मे महिनामा चीनमा च्याट जीपीटीको माध्यमबाट फेक न्यूज फैलाएको आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरिएको थियो । साउथ चाइना मर्निङ पोस्टका अनुसार होङ नामका ती व्यक्तिलाई पक्राउ गरिएको थियो, जसले च्याट जीपीटीको माध्यमबाट भ्रामक रेल घटनाको खबर बनाएका थिए ।

उक्त भ्रामक खबरमा रेल दुर्घटना हुँदा नौ जना मानिसको मृत्यु भएको उल्लेख गरिएको थियो । उक्त खबरलाई चीनको सामाजिक सञ्जालमा शेयर गरिएको थियो । त्यो समयमा १५ हजारभन्दा बढी मानिसले त्यो खबर क्लिक गरेका थिए । यद्यपि, चीनमा सेन्सरशिप अत्यधिक छ । यहि कारण १५ हजार मानिसले उक्त झुटो खबरमा क्लिक गर्नासाथ साइबर सेक्यूरिटीको ध्यान उक्त खबरमा पर्यो ।

उक्त घटना चीनका साथै विश्वमै च्याट जीपीटीको माध्यमले जोडिएको पहिलो गिरफ्तारी थियो ।

प्रतिक्रिया