आइतबार, असार १, २०८२

यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याइँदै

नेपालखोज २०८० साउन ३१ गते १४:०४

काठमाडौं । काठमाडौं महानगरपालिकाको नेतृत्वमा गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याउने कामले तीव्रता पाएको छ ।

काठमाडौं उपत्यकामा बस्ती बढेसँगै विसं २०६० पछि यस क्षेत्रका दुवै नदी पुरेर घर बनाउन थालिएको स्थानीयवासी चुडामणि कोइरालाले जानकारी दिए ।

तत्कालीन कपन गाविसका जननिर्वाचित पूर्व पदाधिकारी एवं सबै राजनीतिक दलका नेतृत्वको सहमतिमा नदी पुरिएको उनले बताए ।

नदी पुरेर ढल विच्छ्याएसँगै बाढीले कपन एवं काठमाडौं महानगरपालिका–६ स्थित सरस्वतीनगर र वडा नं ७ को चावहिल क्षेत्रका केही बस्ती डुबानमा पर्ने गरेको छ ।

महानगर क्षेत्रमा पहिले नै खोलासँगै चार मिटरको बहाव क्षेत्र छोडिएको छ । तर बूढानीलकण्ठ नगरपालिका–१० को भागमा भने खोलासँगै चार मिटर बहाव क्षेत्र नछोडी घर बनाइएको छ ।

खोलाको दायाँबायाँ चार-चार मिटर खुला भाग छोडेर घर बनाउनुपर्ने मापदण्ड भए पनि त्यो तत्कालीन कपन गाविसले पालना नगरेको यो प्रकरणले देखाएको छ ।

महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडा नापी कार्यालयले यस क्षेत्रको नापी गर्ने र पुर्जा भएको जग्गामात्र व्यक्तिको कायम गराएर बाँकी जग्गा सरकारी पर्तिका रुपमा कायम गरिने बताउछन् ।

प्रतिक्रिया