आइतबार, जेठ ६, २०८१

हवाई टापुको डढेलोमा ज्यान गुमाउनेको सङ्ख्या एक सय माथि

नेपालखोज २०८० साउन ३१ गते १४:०७

लहाइना । हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा एक सय छ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । हवाईका गभर्नर जोस ग्रीनले मृतकको सङ्ख्या दोब्बर वा तेब्बरले बढ्नसक्ने बताएका छन् ।

अघिल्लो मङ्गलबार वनबाट सल्केको डढेलोले लहाइनाका झण्डै १३ हजार घरमा क्षति भएको छ । बितेका एक सय वर्षमा यति भीषण एवं भयावह अवस्था अमेरिकी जनताले गर्नुपरेको थिएन । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको जनसाधारण क्रुद्ध भएका छन् । अस्थायी मुर्दाघर वरपर मृतकका अस्थिपञ्जरको सङ्कलन जारी छ ।

आगोले खरानी नपारेका भग्नावशेषमा मृतकको खोजी जारी छ । हरेक दिन १० देखि २० जनाको डढेको शरीर फेला पर्दैछ, त्यसैले मृतकको सङ्ख्या दुई सयभन्दा बढी हुनसक्ने अनुमान गरिएको खोजमा संलग्न एक जना अधिकारीले बताएका छन् ।

बाह्र हजार हवाईबासीको लहाइनामा आगोले सखाप नपारेको कुनै स्थान छैन । नगरको मध्यभागमा रहेको एक सय ५० वर्ष पुरानो वरको रुख डढेर कालो भएको छ भने सडक किनारमा लगाइएका अग्ला रुखका फल पनि डढेका छन् ।

प्रतिक्रिया