आइतबार, वैशाख २३, २०८१

भारतको हिमाञ्चल प्रदेशमा बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु

नेपालखोज २०८० साउन ३१ गते १८:३१

नयाँदिल्ली । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ ।

सिमलाको समर हिल क्षेत्रमा गएको भीषण पहिरोले क्षति पुर्याएपछि पछिल्लो दुई दिनमा जारी खोजी तथा उद्धार कार्यमा १२ जनाको शव फेला परेको छ भने नौ जना अझै हराइरहेका छन् ।

भारी वर्षाका कारण काँगडा जिल्लामा बाँध भत्किने जोखिममा परेको छ । यसले तल्लो क्षेत्रमा बाढीको चिन्ता बढाएको छ । बाढीको जोखिममा परेका ८०० भन्दा बढी मानिसहरूलाई तल्लो इलाकाबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ र कठिन भूगोलमा बाढीको पानीमा फसेका करिब ८० जनालाई उद्धार गरिएको छ ।

भारतीय वायु सेनाका डुङ्गा र हेलिकप्टरहरू कठिन भू–भागहरूमा प्रभावितहरूको उद्धारका लागि सेवामा खटिएका छन् । हिमाञ्चल राज्यको राजधानी सिमलाका साथै मण्डी, कुल्लू र काँगडा जिल्ला पनि सबैभन्दा बढी प्रभावित भएका छन् ।

अहिलेसम्म करिब ३०० सडक र राजमार्गहरूको यातायात प्रभावित भएको छ । एक सय वर्षभन्दा पुरानो सिमला–कालका रेल मार्गको लिक केही स्थानमा उखेलिएको छ, पुलहरू भत्किएका छन् भने ट्रान्सफर्मरहरू ढलेका वा बिग्रिएका छन् । धेरै खानेपानी परियोजनाहरू पनि प्रभावित भएका छन्, जसले गर्दा राज्यको सामान्य जनजीवन अस्तव्यस्त भएको छ ।

हिमाञ्चल राज्य सरकारी अधिकारीहरूले लगातारको वर्षाका कारण ७२० घर र २४१ पसलपूर्ण रूपमा क्षतिग्रस्त भएको र करिब सात हजार १६१ घरमा आंशिक क्षति पुगेको पुष्टि गरेका छन् ।

राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुका अनुसार राज्यलाई १०० अर्ब भारतीय रूपैयाँ (करिब १.२ अर्ब अमेरिकी डलर) बराबरको क्षति भएको थियो र प्रभावित क्षेत्रमा संरचना पुनः निर्माणका लागि कम्तिमा एक वर्ष लाग्ने बताइएको छ ।

प्रतिक्रिया